बाहिर तामझाम, भित्र–भित्र अस्तित्व जोगाउने पिरलो
तपाईं प्रज्ञा भवन कमलादीको मूल ढोकाबाट भित्र छिर्नेबित्तिकै एउटा स्ट्याचुले स्वागत गर्छ, तर गजधम्म परेर । त्यसपछि दायाँ-वायाँ जता लागे पनि तपाईंले पछ्याउने स्ट्याचुमै देखिएको अनुहार हो, ‘सुप्रीम कमाण्डर’ पुष्पकमल दाहाल (प्रचण्ड) को । तर तस्विरको छेउमा कुँदिएका नारामा खुब मीठास भेटिन्छ । नाराले त समाजवादको यात्रामा डोर्याएजस्तो लाग्छ । शिक्षा, स्वास्थ्य र गाँसबासका आवश्यकता पूरा हुनै लागेको सन्देश दिन्छ ।
ध्वजापताका, ब्यानरहरुमा, ठाउँठाउँमा कोरिएका नारामा जताततै प्रचण्डलाई हेरेपछि कार्यक्रम स्थलतर्फ अगाडि बढ्दा फेरि भित्तामा देखिन्छन्, कलाकारहरुले कुँदेका उनै प्रचण्डका मुहार । यी सब छिचोलेर कार्यक्रमस्थल (जहाँ, आइतबार उद्घाटनसत्र भएको थियो, सोमबारदेखि बन्दसत्र चल्छ) पनि प्रचण्डकै भक्तिगानले भरिभराउ छ । माओवादी केन्द्रले आठौं महाधिवेशनका लागि भनेर बनाएको गीतमै छ, ‘…नेतृत्वको केन्द्रीकरण, विचारको केन्द्रीकरण…।’
भूमिगतकालीन सशस्त्र युद्धका कुरा छोडौं शान्ति प्रक्रियामा आउँदा माओवादीले एकात्मक शासन व्यवस्था अन्त्य गरेर राज्यको शासकीय स्वरुप विकेन्द्रित गर्ने नीति लिएको थियो । समयले त्यही नीतिलाई संघीयताका रुपमा शिलान्यास गर्यो । तर शान्तिप्रक्रियामा आएको १५ वर्ष नाघिसक्दा पनि चेन अफ कमान्डको पुरानो धङधङी माओवादीले बिर्सिनै सकेन, जसले त्यस प्रथाविरुद्ध बोले, पार्टीको बहिष्करणमा बोले, पार्टीबाट निकालिए।