लघुकथाः नागथान

मुक्ति गौतम

मणिपुर, भारत 

गीता र भागवतका धेरै श्लोकहरू कण्ठस्थ गरेका रामशरण उपाध्यायको जिल्लामा निकै ठुलो नाम थियो। उनको धार्मिक निष्ठा र आचरणमा खोट लगाउने ठाउँ थिएन। गाउँका कतिपय धार्मिक अनुष्ठानदेखि लिएर पुराण पारायणमा उनकै बोलबाला रहन्थ्यो। 

उनलाई शुद्ध शाकाहारी भोजनका स्वस्थ प्रवक्ताका रुपमा आम मानिसहरूले चिन्दथे। आफ्नो कुरामा मात्र जिद्दी गर्ने र अर्काको कुरा सितीमिती नसुन्ने बाहेक अरू विषयमा शतप्रतिशत असल मानिस थिए रामशरण उपाध्याय।

'कठैबरा रामशरणजीलाई त विषालु सर्पले डसेछ नि। बुढा बाँच्दैनन होला,' गगनले भन्यो।

'ए हो र कहाँ अनि कसरी टोकेछ नि,' रामुले सोध्यो?

एकाबिहानै रिमरिममा नागथानमा दुधधार गर्न गएका थिएछन, हेमानको सर्प बसेको रहेछ। अँध्यारोमा देखेनन क्यार निहुरेर दुधधार गर्नु पर्‍यो भन्दा घाँटीमा ठुँगेछ,' गगनले बेली बिस्तार लगायो।

रामशरणजस्ता विवेकशील व्यक्ति पनि नागपूजाको नाउँमा अन्धविश्वासी हरकत गर्छन्। सर्पलाई दूध ख्वाएको परिणाम विचारा– रामुको प्रतिक्रिया।

प्रकाशित मिति: : 2021-12-25 14:24:00

प्रतिकृया दिनुहोस्