प्रहरीकै माेटरसाइकल चाेरेर कारागारका नाइके फरार

ज्यान मुद्दामा २० वर्ष कैद फैसला पाएर सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन्।

दाङकाे घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका निवासी २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ।

घोराही कारागारका नाइकेसमेत रहेका परियार विहिवार दिउँसो फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए।

उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल चाेरेर भागेका हुन्। प्रहरी जवान चौधरीको मिलेमतोमा उनी भागेको आशंका गरेको प्रमुख एसपी काफ्लेले बताए।

घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए। परियारलाई भगाउन चौधरीकाे भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैरहेको एसपी काफ्लेले बताए।

परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी मात्रै गरेका छन्। उनकाे खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-24 06:19:00

प्रतिकृया दिनुहोस्