मंसिर १० गते एक बिहानै मोबाइलमा सेट गरेको अलार्म बज्यो। गाउँ घरतिर भाले बासेको सुनिन्थ्यो होला। यो ठूलो व्यस्त शहरमा अलार्म र गाडीको आवाज सँगै–सँगै आँखा खुल्यो।
आजको दिन विशेष थियो। विशेष यस कारण थियो कि धेरैपछि एउटै कक्षामा सँगै पढ्दै गरेका साथीहरु मिलेर काठमाडौंभन्दा टाढा शैक्षिक भ्रमण गर्न जाँदै थियौं। काठमाडौंदेखि वागमती सिँचाइ परियोजना भएको स्थल सर्लाहीसम्मको यात्रा थियो।
त्यो दिन बिहानै म तयार भएर घर बाहिर रोडमा निस्किएँ। घरको गेट खोल्न नपाउँदै चिसो हावाको सिरेटोले मुखमै स्पर्श गर्यो। मङ्सिर महिनाको कठ्याङ्ग्रिदो चिसोको प्रवाह नै नगरी मेरा पाइला अघि बढाएँ। साथीलाई फोन गरेर बसुन्धारा चोकमा आउनु भनेको थिएँ म पुग्दा साथी आइसकेको रहेछ। पूर्वयोजना अनुसार सबैजना कलेजमा जम्मा भएर निस्किने तयारी गरेका थियौं। दुवै जना कलेज लाग्यौं।
हामी कलेज पुग्दा साथीहरु आउनेक्रम जारी नै थियो। सायद सबैमा उत्साह थियो होला। केही छिन सबै जना आइपुगे। सबैको अनुहार हँसिलो र उत्साहित थियो। नहुन् पनि कसरी सबै जना साथीभाई मिलेर लामो यात्रामा निस्कँदै थियौँ।
८ बजे निस्किने भनेको गाडी प्राविधिक कारणले साढे ९ बजे मात्र कलेजको प्राङ्गणबाट निस्क्यो। ढिलै भएपनि काठमाडौंको जामलाई पछि पार्दै गाडी थानकोट पुगिसकेको थियो। गाडीका सह–चालकले गाडीलाई इन्ट्री गराएर ड्राइभरलाई अगाडि बढाउन इसारा गरे। त्यतिबेलासम्म गाडीभित्र को माहोल ताती सकेको थियो। साथीहरु गाउँदै, नाच्दै–नचाउँदै, रमाइलो गर्दै थिए। ड्राइभरले पनि साथीहरुको रमाइलोमा साथ दिँदै र गीतको धुन सुन्दै गाडीलाई नागढुंगाको ओरालोमा झार्दै थिए।
नेकपा (एमाले)को दशौं महाधिवेशनको कारण गाडी मुग्लिन–नारायणगढको बाटो नभई बाइरोड हुँदै दामनको बाटो जाने भयो। यो बाटोमा भनेजस्तो राम्रो होटल नपाउने भएको हुँदा खाना नौबिसेमा खाने निधो गरियो तर खाना त्यति मिठाे लागेन।
गाडीभित्र ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ भन्ने गीत बजाउँदै हाँस्दै हसाउँदै, नाँच्दै नचाउँदै नौबिसेलाई फेरि फर्केर आउछौँ भन्दै बाइरोडको उकालो लाग्यौं।
जङ्गलको बाटो कहिले पनि यात्रा नगरेकाहरुको लागि पट्यार लाग्दो बाटो तर चराचुरुङ्गीको चिरबीर आवाजसँगै सुसेली हाल्दै गरेका रुखहरूको आवाज सुन्दै अनि बाटो छेउमै बनाएका स–साना पुराना घरहरू हेर्दै यात्रा अगाडि बढ्दै थियो।
गाडीमा ‘ड्राइभर दाइ मन पर्यो मलाई’ भन्ने गीत बजिरहेको थियो। गाडीभित्रको माहोल फेरि नाँच्दै नचाउँदै, रम्दै रमाउँदै साथीहरुले गीतको धुनमा आफ्नो स्वर मिसाउँदै माहोल गुञ्जयमान बनाउँदै यात्रा अघि बढ्यो।
‘पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो’ जस्ता गीतहरु बेज्दै जाँदा पालुङलाई छोड्दै दामन पुगेको पत्तै भएन।
दामन नसुनेको सायद विरलै होलान्। खाजा खानको लागि दामनमा गाडी रोक्यौं। ३/४ पटक यही बाटो यात्रा गर्दा पनि मैले दामनलाई नजिकबाट नियाल्ने मौका पाएको थिइनँ। यसपटक भने धित मरुन्जेल दामनलाई नजिकबाट नियाल्ने मौका पाएँ। सेल्फी डाँडामा गएर फोटो खिच्ने इच्छा पनि पूरा भयो। सुन्दा जति राम्रो छ नि ‘दामन’ शब्द त्योभन्दा पनि त्यस ठाउँको दृश्य झनै राम्रो लाग्छ मलाई।
हिउँ पर्ने दामनमा चिसो बढेको देख्दा जो कोहीलाई लाग्छ पानी चिम्टाले समातौ अनि आगो हातले। आन्तरिक र बाह्य पर्यटनको रोजाइमा पर्ने दामनलाई अझै विकास गर्न पाएको भए पर्यटकीय हब बन्ने थियो। दामनलाई छोड्ने मन नहुँदा नहुँदै पनि गन्तव्य टाढा भएको हुँदा दामनमा बिताएका पलहरुलाई मानसपटलमा कैद गर्दै हामी सिमभञ्ज्याङ्गको ओरालो लाग्यौं।
काठमाडौँको कोलाहालदेखि टाढाको सुन्दर शान्त बस्तीलाई गुडिरहेको गाडीको झ्यालबाट साथीहरु चियाउँदै थिए। बाहिरी वातावरणको जति वर्णन गर्दा पनि कमी नहोला सायद डाँडा काँडाको बीचमा रहेको बस्ती अनि त्यही बस्तीबाट लगेको बाटोहरुको भन्ने लाग्यो।
आहा! कति राम्रो वातावरण, हेर्दै मन लोभ्याउने त्यो सिमभञ्ज्याङको ओरालो, अनि त्यस ओरालो झर्दै गर्दा लागेको हुस्सुको त कुरै छोडौं। त्यस्तो मनमोहक दृश्य देख्दा कसलाई पो रमाइलो नलाग्ला र? साथीहरूका मुखबाट गुन्जिन थाल्यो ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ गाडीभित्रको माहोल निकै नै रमाइलो बन्यो साँच्चै यो गीतले यात्राको क्रममा निकै ऊर्जा थपेको थियो।
दिन ढल्किँदै थियो, बाटो छोट्टिँदै पनि थियो। पुग्नुपर्ने अलि टाढा चन्द्रनिगापुर(चपुर)रौतहट थियो। हाम्रा बसहरू भैंसे निस्किन पनि निकै समय लगाइरहेका थिए। सानो, घुमाउरो अनि पहाडको बाटो भएर पनि होला। रम्दै, रमाउँदै आइरहेका साथीहरु कतिबेला बस भैंसे निस्केला र समथर सडकमा यात्रा गर्न पाइएला भनेर कुरिरहेका आभास हुन्थ्यो।
अँध्यारो भइसकेको थियो। पहाडको घुमाउरो बाटो छेडेर बसहरू भैंसे पुगे, हामी सबै जना खुशी भयौं। त्यो अत्यासपछि साथीहरु सबै मिलेर अन्ताक्षरी खेल्न थाल्यौं।
केहीबेरमा हामी पूर्वपश्चिम राजमार्ग पुग्यौं। अँध्यारो भइसकेका कारण सडकमा गुडिरहेका सवारी साधन बाहेक केही पनि देखिएका थिएनन्।जङ्गलकोे यात्रा लामो बन्यो। ‘होटलमा कतिखेर पुगिन्छ ?’ साथीहरु थकाइ लागेर होला बसभित्र भन्दै थिए। केहीबेरमा गाडी अमलेखगञ्ज पुग्यो।हाम्रो गाडी वीरगञ्ज, सिमरा र रक्सौलको केन्द्रबिन्दु पथलैया चोकमा पुग्यो, त्यहाँबाट फेरि पूर्व लाग्यौं।
गाडी निजगढ बाराको बाटोमा गुड्दै गर्दा सरले भन्दै हुनुहुन्थ्यो ‘निजगढ एयरपोर्ट बन्न लागेको ठाउँ यतैतिर हो’ फेरि गाडीबाटै ‘फास्ट ट्रयाकको अन्तिम बिन्दु पनि यहीँनिर छ’ भन्दै गर्दा साथीहरु गाडीको झ्याल खोलेर हेर्न हतारिए तर अँध्यारो भएकाले केही देखिएन। निजगढ पुग्दा अँध्यारो थियो तर बत्तीले बजार झलमल्ल थियो।
निजगढ बजारदेखि अगाडि बढदै जङ्गलको बाटोमा रात्रिकालीन यात्रा गरिरहेका थियौं। बसको वातावरण शान्त थियो, सबैमा होटल कति बेला पुगिन्छ भन्ने कौतुहलता थियो। काठमाडौंदेखि यात्रा गरेको समयका हिसाबले १२ घण्टा भइसकेको थियो।
घडीको सुईले नौ बजेको जनाउँदै थियो तर गाडी भने पूर्वपश्चिम राजमार्गमा गुड्दै थियो। लगभग साढे ९ बजेको थियो होला रौतहटको चपुर आइपुगिसकेका थियौं। सबैजना गाडीबाट ओर्लिएर होटेलतिर लाग्यौँ। यात्रा लामो भएपनि बाटोमा रमाइलो गर्दै आएका कारण यात्रा रमाइलो नै रह्यो। अनि पहिलो दिनको यात्रा यही चपुर रौतहटमै आएर विश्राम गर्यौं।
(जुम्ला घर भएका लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)