बहुप्रतिक्षित धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयको सहमति

File Photo
File Photo

जुम्लामा पानीको अभाव हटाउन धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। आयाेजनाकाे लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ।

धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेश हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रीस्तरीय निर्णय भएको अर्थ मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।

आयोजनाबाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिका गरी ३ वटा स्थानीय तहका ९ हजार १ सय ८ घरधुरीका ४४ हजार १ सय ६३ जनसंख्या लाभान्वित हुनेछन्।

आयोजनाको १ प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय ३ वटै तहले १ करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना अगाडि बढेकाे छ।

चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट बैंक धरौटी राखेका छन्।

यसैगरी ३ वटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन्।  आयोजना ०६६ मा सुरु भएको थियो।

स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी सहितको तदर्थ समिति क्रियाशील छ।

आयोजना करिब ४ हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने कर्णाली प्रदेशका सांसद नरेश भण्डारीले बताए।

प्रकाशित मिति: : 2021-12-16 12:45:00

प्रतिकृया दिनुहोस्