भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ। 'अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०।२५ प्रतिशत मात्रै रहेको छ,' मन्त्रालयले भनेको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ। यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सवैभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ। पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ।

नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको छ। 

प्रकाशित मिति: : 2021-12-15 15:00:00

प्रतिकृया दिनुहोस्