इन्दुशंकर चिनी उद्योगको क्रसिंग तयारी पूरा

सर्लाहीको हरिवनस्थित देशकै ठूलो इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिंग तयारी पूरा गरेको छ। 

सोमबार डोगा पूजासँगै उद्योगले यस वर्षको क्रसिंग तयारी पूरा गरेको उद्योग प्रशासनले जनाएको हो। देशमै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्लाको पहिचान बनाएको सर्लाहीमा तीनवटा चिनी उद्योग सञ्चालनको तयारीमा छन्। इन्दुशंकर चिनी उद्योग हरिवनले पुस दोस्रो हप्ताबाट क्रसिंग गर्ने तयारी गरेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए। 

दैनिक ५० हजार क्वीन्टल उखु क्रसिंग क्षमताको यस उद्योगले चालू क्रसिगं सिजनमा ३० लाख क्वीन्टल उखु क्रसिंग गर्ने लक्ष्य लिएको उद्योगले जनाएको छ। उद्योग प्रशासनले एक कार्यक्रमकाबीच सोमबार डोगा पूजा सम्पन्न गरेको जनाएको छ। उक्त डोगा पुजामा जिल्लाका प्रतिनिधि उखु किसान, किसान नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि र उद्योगका कर्मचारीहरुको उपस्थिति रहेका थियो। 

यस चिनी उद्योगले किसानलाई समयमै भुक्तानी गर्ने गरेको छ। भने, राज्यको तर्फबाट अनुदान रकम उपलब्ध गराउने कार्यमा समयमै सहजीकरण गर्ने गरेको अगुवा उखु किसानहरुको भनाइ छ। यस उद्योगले गत वर्षको क्रसिंग सिजनमा पनि २२ लाख १० हजार क्वीन्टल उखु क्रसिंग गरेको उद्योगका उखु प्रवन्धक रजकले जानकारी दिए। 

यसैबीच जिल्लामा रहेका तीन मध्य गोडैताको महालक्ष्मी चिनी उद्योग र अन्नपुर्ण चिनी उद्योगसमेत यस सिजन सञ्चालनको तयारीमा छन्। किसानको भुक्तानीमा ढिलाई गरेको महालक्ष्मीले नियमित क्रसिंग गरिरहेको छ। भने, किसानको भुक्तानी लामो समय नदिएको अन्नपुर्ण गत सिजन सञ्चालनमा आउन सकेको थिएन। उद्योगले उखुको भुक्तानी नदिएपछि पीडीत उखु किसानहरु संघीय राजधानी काठमाडौं पुगी आन्दोलनमा उत्रिएका थिए। 

अन्नपुर्ण चिनी उद्योगले नयाँ व्यवस्थापनसहित सञ्चालनको तयारी सुरु गरेको हो। किसानको भुक्तानी दिन भन्दै यस पहिलाका उद्योगी वीरेन्द्र कनौडियाले उद्योग नै बिक्री गरेका थिए। लगतै नयाँ उद्योगीहरुले सञ्चालन गर्न लागेका हुन्। यता महालक्ष्मी चिनी उद्योग गोडैता पनि सञ्चालनको तयारीमा छ। मर्मत लगाएतको काम सम्पन्न गरेर यस सिजन उखुको मूल्य निर्धारण लगतै उद्योग सञ्चालनको तयारी गरिएको दुवै उद्योग व्यवस्थापकहरुले जनाएका छन्। 

केही वर्ष पहिलासम्म जिल्लामा प्रत्येक वर्ष ८० लाख क्वीन्टलभन्दा धेरै उखु उत्पादन हुँदै आएकोमा पछिल्ला वर्षहरुमा उखु उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ। प्रत्येक वर्ष मूल्यमा हुने रस्साकस्सी र भुक्तानीमा उद्यागको मनोमानी तथा श्रमिकले रकम नपाउने समस्याले समेत उखु उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा रहेको जानकारहरुको भनाइ छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्यांकले समेत उखु उत्पादनमा गिरावट आएको देखाएको केन्द्रको भनाइ छ।

एसवी थापा

प्रकाशित मिति: : 2021-12-13 19:10:00

प्रतिकृया दिनुहोस्