अब विश्वभरबाट कर्णालीमा डाक्टर पढ्न आउने वातावरण सिर्जना हुन्छ: राष्ट्रपति भण्डारी

आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस पढाईको शुभारम्भ गर्दै औपचारिक रुपमा जुम्लामा चिकित्सा विज्ञानको पढाई सुरु भएको बताएकी छिन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीबासीको सपना पूरा भएको उनले बताइन्। प्रतिष्ठान स्थापनाको १० वर्षपछि एमबीबीएस (डाक्टरी) पढाई थालिएको हो।

'यहाँका विद्यार्थीहरुले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनि गरेको प्रयास आज सार्थक भएको छ,' उनले भनिन्, 'प्रतिष्ठानले दुर्गम क्षेत्रमा पुर्‍याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरुमा परिवर्तन समेत ल्याएको छ।'

दुर्गम क्षेत्रका गर्भवतीहरुका लागि राष्ट्रपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरण्मा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठानमा २० जना एमबीबीएस अध्ययनका लागि कोटा भएपनि १९ जना विद्यार्थीहरु जुम्ला पुगिसकेका छन्।

जुम्लामा पहिलो पटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा आएका हुन्। एमबीबीएस अध्ययन गर्न १९ जना विद्यार्थी भर्ना भएका छन्। भने, बीफार्म मा ११ जना, बीएमएसतर्फ ८ जना बीएनएस नर्सिङ १६ जना र बीपीएचमा ८ जना विद्यार्थी भर्ना भइ आइतबारदेखि पढाइ सुरु भएको छ।

२०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो।

राष्ट्रपति भण्डारीले जल जमिन, जंगल र जडिबुटी नै समृद्ध कर्णालीको आधार भएको बताएकी छन्।

'जैविक विविधतायुक्त कर्णाली भौगोलिक रुपमा विकट भएतापनि बुहमुल्य जडिबुटी, शिलाजित, विश्व प्रख्यात मार्सी चामल, स्याउ, सिमी र ओखर जस्ता अर्गानिक कृषि उपजको धनी क्षेत्र हाे कर्णाली,' उनले भनिन्, 'स्वर्गकी अप्सरा उपमा पाएको नेपालकै ठूलो रारा ताल, यहाँको बहुमुल्य जडिबुटी, शिलाजित, अग्र्यानिक कृषि उपज नै यहाँका अमुल्य सम्पति हुन।'

झाडापखाला र हैजाको प्रकोप खेप्ने कर्णालीमा मध्यपश्चिमकै स्वास्थ्य क्षेत्रको नक्षत्रको रुपमा उदाउँदै गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुकलाई महत्वपूर्ण योगदान दिने उनको भनाई छ।

'अब विश्वभरबाट कर्णालीमा डाक्टर पढ्न आउने वातावरणको सिर्जना गर्नु पर्दछ,' उनले भनिन्, 'प्रतिष्ठानले शिशु तथा मातृ मृत्युदर घटाई प्रसुती हुन नसकेका महिलालाई उद्वार गर्नुपर्ने अवस्था अउने छैन भने राज्यको भार समेत कम हुनेछ।'

उनले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास समते गरेकी छन्।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माैलिक हकमा व्यवस्था गरिएकाे अधिकार कर्णाली बासीले उपभाेग गर्न पाउने व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गरे।

'प्रतिष्ठान स्थापनाकाे पहलकर्ता नरेश भण्डारीकाे टिमलाई र जग्गा उपलब्ध गराउनेलाई हार्दिक धन्यवाद,' उनले भने, 'कर्णालीलाई पर्याप्त बजेकाे व्यवस्था गरेमा विकास सम्भव हुनेछ।'

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झाडा पखाला, हैजा जस्ता रोगको प्रकोपले सताउने कर्णालीमा प्रतिष्ठानले यो समस्याबाट मुक्ति दिएको बताए।

'२० वर्ष पहिले स्वास्थ्य शिविरमा पुग्दा जुम्लामा हैजा र झाडापखालाको प्रकोपले सताएको थियो,' उनले भने, 'आज त्यहि जुम्लाले डाक्टर उत्पादन गर्दैछ।'

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले प्रतिष्ठानको थप विकास र स्तरउन्नतीको लागि स्वास्थ्य मन्त्रालय तयार रहेको बताए।

मरेकाे लासलाई पाेष्ट माटम गर्ने डाक्टर नपाउने कर्णाली एक जना डाक्टर पाउन मुस्किल हुने ठाउँमा डाक्टर उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए।

उनले भने,'अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमहरु संचालन र पीएचडी तहका कार्यक्रमहरु पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित भएको छ।'

प्रतिष्ठान स्थापानाताकाका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले प्रतिष्ठान स्थापना भएपनि चल्न नसक्ने भन्ने राज्यकाे मानसिकता रहेकाे बताए।

'हामीलाई सिमित दिएर कर्णाली पठाइएकाे थियाे। जब हामीले थप बजेटकाे माग गर्थ्याैं तब मन्त्रालयका सचिवहरु लगानी खेर जाने ठाउँमा लागि किन याेजना बनाउँछाैं भनेर प्रश्न गर्थे,' उनले विगत सम्झँदै भने,'मन्त्रालयले हामीलाई हासाेकाे पात्र बनाउँथ्याे। आज काेही त्यस्ताे भन्छ भने उ आफै हाँसोकाे पात्र हाे।'

प्रकाशित मिति: : 2021-12-13 08:45:00

प्रतिकृया दिनुहोस्