एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन्। यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन्।

गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अष्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ। संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुँदैछ।

प्रकाशित मिति: : 2021-12-13 06:20:00

प्रतिकृया दिनुहोस्