सोल्मामा प्राङ्गारिक मल उत्पादन

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन सुरु भएको छ। 

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउन स्थापना गरिएको सो उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन थालिएको हो। 

उत्पादित मल अनुदानमा वितरण भइरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए। 

'पहिलो चरणमा नगरपालिकाभित्रका कृषकलाई अनुदानमा वितरण गर्ने तयारी छ' उनले भने, 'अगामी दिनमा नगरपालिकाकै अगुवाइमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ।'

उत्पादित मल मलिलो र गुणस्तरीय भएको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए। अर्थमन्त्रालयको अनुदानबापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो। 

सो कार्यका लागि  रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएा छन्। मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकिलो दुई रुपैयाँका दरले स्थानीयबाट खरिद गर्ने गरिएको छ।   
 

प्रकाशित मिति: : 2021-12-12 18:56:00

प्रतिकृया दिनुहोस्