बेला–बेलामा झ्याँकिरहन्छ। कुन समयमा कता ठोकिएर चोट लाग्ने हो थाहा छैन। दायाँ ठोकिने हो कि बाँयाँ वा तल–माथि कता ठोकिन्छ सबै अनविज्ञ नै छन्। कोही बसेका छन्। कोही उभिएका छन्। सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्न हतार नै छ। बेमतलब जस्तै गरेर बसको गति भने आफ्नै रफ्तारमा छ।
बसको ब्रेक कतिबेला लाग्ने हो र अगाडि हुत्याउने हो थाहा छैन। कतिबेला गेयर बढाउने हो र पछाडि हुत्याउने हो त्यो पनि थाहा छैन। तर, बसमा बसेका, उभिएका कतिपय हतार अनुहार देखिन्थे। कोही आफ्नै कुराकानी व्यस्त पनि देखिन्थे। बसमा आफ्नै तालको गीत बजेको छ। कोही त्यही गीतमा मस्त पनि देखिन्थे।
बसको यात्रा न हो। कुनै खास उम्मेर समूहकाले मात्र यात्रा गर्दैनन्। नाबालकदेखि बृद्धसम्मको यात्रा छ बसमा। मेरो यात्रा पनि त्यही बसमै भएको छ। म पनि प्रायः घोराही–तुलसीपुरको यात्रा गर्दा बसमै गर्ने गर्छु। शुक्रबार पनि घोराहीबाट तुलसीपुरको यात्रा बसमा भयो, मेरो।
आजभोलि मोटरसाइकलमा घोराही–तुलसीपुरको यात्रा गर्न कमै मात्र रुचाउँछन् होला। त्यही मध्येको एक म पनि हो। किनभने घोराहीदेखि तुलसीपुरको सडक खण्ड चारलेनको बनाउने भनेर भत्काइएको दुई वर्ष बढी भइसकेको छ। आजसम्म सकिनुपर्ने हो। तर, भत्काइएको सडकले गर्दा धुलै–धुलो छ। दुई लेनको सडक एक लेनमा परिणत भएको छ।
मोटरसाइकलको यात्रा गर्ने हो भने घोराहीदेखि तुलसीपुरसम्म २३ किलोमिटर दुरी पार गर्दा धुलोका कारण नचिनिने हुन्छ। एकलेनको भएको सकडमा पनि ठाउँ–ठाउँमा सयौँ खल्टा छन्। जसले दुर्घटनाको जोखिम बढी छ। यो सडक ब्यस्त सडक पनि हो।
शुक्रबारको यात्रा यस्तै जोखिमका बीच भयो। म बसको बीच भागतिरको सिटमा बसेको थिएँ। मेरो अगाडिको सिटमा पनि दुई जना बसेका थिए। अन्य पूरै सिटमा पनि यात्रु थिए। बसको गति उस्तै बेमतलव, आफ्नै रफ्तारमा छ। यात्रु चढ्ने, झर्नेक्रम जारी नै छ।
यस्तै क्रममा एक जना पिठ्यूमा बच्चा बेकेर बसमा चढिन। बस्नका लागि सिट खालि थिएन। अरु उभिएका जस्तै गरेर उनी पनि उभिइन। सहचालक ढाकाबाट मिलेर बस्न आग्रह गर्दै थिए। यात्रु चढ्नेक्रम जारी थियो। पिठ्यूमा बच्चा बोकेकी ति महिलालाई गाह्रो भएको महसुस जोकोहीले सजिल्यै अनुमान लगाउन सक्थे।
यही बीचमा मेरो अगाडि बसेका दुई जनामध्ये एक जनाले उनलाई बोलाइन र आफ्नो सिटमा बस्न आग्रह गरिन्। अनि आफू उठिन्। ति पिठ्यूमा बच्चा बोकेकी महिला आइन र बसिन। त्यसपछि उनलाई केही सहज भएको सायद सबैले महसुस गरेनै होलान। मैले पनि त्यसै अनुमान लगाएँ।
बसको गति उस्तै छ। ठाउँ–ठाउँमा झ्याँकी रहेको छ। न बसका चालक यात्रुका बारेमा जानकार देखिन्छन् न सहचालकनै। बृद्ध आएपनि उभ्याएका छन्। बच्चा बोकर आएका महिला आएपनि उभ्याएका छन्। अन्य जोकोही अशक्त आएपनि सिट नभए उभिनुपर्ने बाध्यता छ। किनकी उनीहरु पनि आफ्नो गन्तव्यमा जानु छ।
यसमा सिट छैन अर्कोमा जान्छु भनेर बसेभने कहिल्यै त्यो मौका मिल्ने अवस्था छैन। प्रत्येक पाँच–पाँच मिनेटमा बस छुट्ने भएपनि यात्रुको चाप सधै उस्तै हुने गर्छ।
पिठ्यूमा बच्चासहितकी ति महिला सिटमा बसेको करिब १० मिनेटपछि उनी उठिन्। उनको झर्ने ठाउँ आएको रहेछ। उनी झरिन्। त्यसपछि फेरि सिटमा बस्न आग्रह गरेकी ति युवती त्यही सिटमा बसिन। उनी बसेको ५ मिनेट जति पनि भएकाे थिएन। अर्की महिला फेरि पिठ्यूमा बच्चा बोकेर आइन। ति युवती बसेको छोउको अर्को सिट खालि थियो। उनले ति महिलालाई पनि सिट भएको जानकारी दिँदै आएर बस्ने आग्रह गरिन। तर, ति महिला नजिकै झर्ने भन्दै आइनन् र नजिकै झरिन पनि।
अनि मलाई ती युवतीले गरेको व्यवहारप्रति मेरो मनमा केही जिज्ञासाहरु उठ्यो। खासै अनौठो मान्ने कुरा होइन। तर, मलाई भने उनले अरुप्रति देखाएको त्यो सम्मानमा अनौठो लाग्यो। केही जिज्ञासाहरु उठाउन मन पनि लाग्यो।
एक सञ्चारकर्मी भएका नाताले उनलाई सोधे, अरुका सहजताका लागि आफ्नो ठाउँ पनि छाड्नु भयो त? उनले भनिन्– ‘म कोही अप्ठेरोमा परेको देख्नै सक्दैन। ति दिदीलाई पनि बच्चासहित उभिन गाह्रो हुन्छ नि भनेर बस्न दिएको। म त उभिन पनि सक्छु नि।’
अरुले यसरी छाड्दैनन् नि आफू बसेको ठाउँ? ति युवतिले आमा बुवालाई जोड्दै भनिन्,‘मेरो घरमा पनि आमा बुवा हुनुहुन्छ। देखिनेबेला केही शक्ति भएको जस्तो हुनुहुन्छ। तर, यसरी उभिन सक्नु हुँदैन। बसको यात्रा गर्दा कसैले सिट छोडिदियोस् भन्ने लाग्छ। तर, अरुले जे गरेपनि म भने अरुलाई गाह्रो भएको देख्न सक्दैन।’
यस्तो शिक्षा कसरी प्राप्त गर्नुभयो त? मैले फेरि प्रश्न गरेँ? उनले भनिन्,‘यो शिक्षा पाउने कुराभन्दा पनि आफै देखेर हो। आउ उहाँहरुलाई पर्यो। भोलि हामीलाई पनि पर्न सक्छ। हामी सक्ने सिटमा मजाले बस्ने अनि बृद्धबृद्धा, अशक्त महिला पुरुष जोकोहीलाई उभ्याउनु त भएनन् नि।’
अरु सोध्नु थियो। उनलाई तर उनको झर्ने ठाउँ आएछ। उनी खैरामा झरिन। जाँदाजाँदै उनको परिचय भने सोधेँ। उनले उषा घर्तीमगर। घोराही– ९ चयनपुर भन्दै झरिन। मैले मेरो परिचय पहिले नै भनेको थिए।
सामान्यतया मैले दाङमा देखेको आफू झर्ने नजिकै हो भने अशक्त, बृद्ध, बच्चासहिका महिलालाई आफ्नो ठाउँ छोड्ने गरिन्छ। बस्न आग्रह गरिन्छ। ति युवतिले भने आफ्नो गन्तव्य लामो हुँदा हुँदै पनि उभिन गाह्रो हुनेलाई बस्न आग्रह गरिन्।
उनका हातमा केही गह्रौ सामानहरु पनि थिए। बरु ति सामान आफै समातेर अरुलाई आफ्नो ठाउँ दिइन।
काठमाडौं, पोखरा लगायतका ठूला सहरमा बसमा आरक्षण सिटको ब्यवस्था गरिएको हुन्छ। महिला सिट, अपांक सिट, बृद्ध सिट भनेर व्यवास्था भएको मैले देखेको छु। दाङमा दुई उपमहानगर छन्। घोराही र तुलसीपुरमा दैनिक मानिस आउजाउ गर्छन। दर्जनौ सर्वाजनिक बसहरु चल्छन्। तर, बसमा आरक्षण सिटको ब्यवास्था भएको छैन।
यदि भएको भएपनि लागू हुन सकेको छैन। यहाँको प्रशासन, यातायात व्यवसायीलाई प्रश्न हो कि दाङमा यो लागू कहिले हुन्छ ? किन भएको छैन? कि दाङमा जो पनि उभिन सक्ने मात्र छन्? आजभोलिको एकलेनको भएको सडक र सडकका खाल्टाखुल्टीले यात्रालाई जोखिम बनाएको छ। बढी कोचाकोच बसमा यात्रु राख्ने रोग पुरानो नै हो।
शुक्रबार मैले यात्रा गर्दा ट्राफिक प्रहरीको चेकिङ पनि थियो। तर, बसमा उभिएका यात्रुलाई केही भनिएन। ड्राइभरलाई पनि केही भनिएन। किन प्रशासन यस्तो बेखबर भएको छ ? साँझ फेरि बसमै घोराही फर्किएँ, म। साँझ त बसमा अस्था दयनीय नै थियो। फोटो मैले खिच्न सकिन।
धन्यावाद! उषा घर्तीमगर। दाङमा बसको यात्राको प्रशंगलाई उठाउने एउटा पात्र भइदिएकोमा। त्यो सतकर्म सधै जारी रहोस्। र, हामी सबैले उषा जस्तै गर्न सक्ने बानिको विकास गर्न सकौँ।