नेपालको राजनीति सकारात्मक निर्णायकताको चरणमा प्रवेश गरेको लक्षण देखा पर्न थालेको छ। ‘राष्ट्रिय हैसियत’ को दलका रुपमा स्थापित भए पनि अरु दलको अनुयायी या सहायक महत्त्वाकांक्षा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपल्टको आन्तरिक निर्वाचनमा अप्रत्यक्ष रुपमा १२ – बुँदे ‘जुवा’ बाट आफूलाई मुक्त गर्दै राष्ट्रिय राजनीतिमा अगुवाइ गर्ने नैतिक हैसियत या पात्रता कमाएको छ।
राजेन्द्र लिङ्देन या कुनै एक व्यक्तिको विजयलाई नियमित निर्वाचनभन्दा फरकरुपले हेर्नु जरुरी छ। राप्रपा १२ – बुँदेको हस्ताक्षरकर्ता आठ दलमध्ये थिएन।
वास्तवमा १२ – बुँदेले नेपालको आन्तरिक राजनीतिको सार्वभौम हैसियत खोसेको विरोध गर्दै नेपाली राजनीतिमा एउटा अनुदार प्रजातान्त्रिक दलका रुपमा अघि बढ्ने उसको संकल्पलाई धेरै नेपालीले शुरुदेखि नै साथ दिएको थिए भने १२ – बुँदेमा अर्थात नेपाली राजनीतिमा ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता’ लाद्दै आफ्नो हस्तक्षेपकारी हैकम स्थापित गर्न सफल भारत तथा पश्चिमा शक्तिहरुले राप्रपा लाई प्रारम्भमा अछुत र नाइके ‘प्रतिगामी’ शक्तिका रुपमा हेरेका थिए।
दोस्रो संविधान सभा निर्वाचनसम्म आइपुग्दा अर्थात ‘अग्रगामी’ लहरका प्रारम्भिक ७ वर्षमै संसद (संविधानसभा) मा २६ स्थान ओगटेर कसैले पनि बेवास्ता गर्न नमिल्ने शक्तिका रुपमा राप्रपा स्थापित भएको थियो।