बार्सिलोना छाडेर नेपालमा अपाङ्गता भएका बालबालिकाको सेवा गर्दै
उनी स्पेनमा जन्मिएकी हुन् । स्पेनको बार्सिलोना ठूलो सहर हो, काठमाडौँ जस्तै । तर, काठमाडौँले यदि महसुस गर्न सक्दो हो त सुख सुविधाको हिसाबले उसले आफूलाई बार्सिलोनाको सामुन्ने पुड्को महसुस गर्ने थियो । विभिन्न कारणले जीवन सरल छ त्यहाँ । यहाँ बस्नेले यस्तै भन्छन् । विलासिता, सहजता र भव्यताले भरिपूर्ण त्यही सहर उनको जन्मथलो हो । तर, कर्मथलो नेपाललाई बनाइन् ।पहिलो पटक नेपाल आउँदा बौद्धिक अपाङ्गता भएकाहरूलाई उनले जस्तो स्थितिमा देखिन्, त्यसले उनलाई बार्सिलोना बस्नै दिएन ।
साढे दुई महिना नेपाल बसेर फर्किएपछि ती बालबालिकाको अवस्था सम्झेर उनको आँत डाहाले जलिरह्यो । डाहाको उखर्माउलोलाई मत्थर पार्न उनले अन्ततः नेपाल नै फर्कने निधो गरिन् । यहाँ आएको आठ वर्ष पुग्यो । हाल उनी ७४ आवाजविहीनकी ‘आमा’ बनेकी छिन् ।बौद्धिक अपाङ्गता भएकाहरूको हक अधिकार सुनिश्चितताका लागि लड्ने, युनिभर्सिटी अफ बार्सिलोनाकी प्राध्यापक, सामाजिक अभियन्ता तथा ‘मदर अफ आशा फाउन्डेसन’ की आइना बार्काले विदेशी भूमिलाई कर्मभूमि बनाउँदा भोग्नुपरेका समस्या, चुनौतीलगायत जीवनका विभिन्न पाटाबारे रातोपाटीसँग भलाकुसारी गरेकी छिन् । आफूलाई विदेशी होइन, नेपाली बुहारी भनेर चिनाउन चाहने आइनाले रातोपाटीसमक्ष मनको दैलो खोलेकी छिन् ।