कुकुरलाई दुई दिनमा ‘चेन्ज’ गर्न सकिन्छ, तर मान्छेको दिमाग कहिल्यै ‘चेन्ज’ हुँदैन (भिडियो)

देशसञ्चार

सपना न्‍यौपाने

‘आफ्ना सन्तानजसरी नै निकै मायाले पालिएका कुकुरहरुलाई जब रोग लाग्छ, तब मानिसहरु एक मिनेट पनि नसोची सडकमा बेवारिसे अवस्थामा फाल्न पनि पछि पर्दैनन्। मानिस बुद्धि, विवेक र चेतनाले अब्बल मानिन्छ, तर पनि मानिसका केही हर्कतहरु भने गर्व गर्न लायक हुँदैनन्’, बोल्दाबोल्दै अवरुद्ध भइन् उनी।

उनी अर्थात ५५ वर्षीया रोमी लामा, जसले विगत २५–३० वर्षअघिदेखि सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरहरुको स्याहार गर्दै आएकी छन्। उनी दुर्घटनाबाट घाइते भएका र  बिरामी अवस्थामा रहेका कुकुरको उद्धार गर्छिन्।

हालसम्म तीन हजारभन्दा बढी कुकरको उद्धार गरिसकेकी रोमीको ‘नेपाल स्ट्रिट डग लभर’ नामक संस्था छ। उनी यस संस्थाकी संस्थापक हुन्।काठमाडौँको इन्द्रदह नजिकै सुवेदी गाउँबाट केही तल जङ्गल छेउमा लिजमा लिएको जग्गामा एउटा सेल्टर निर्माण गरी कुकुरहरुलाई साथमा लिएर बसेकी छन् रोमी। यो कामले सन्तुष्टि मिल्छ उनलाई। आफ्नो जीवनको ऊर्जाशील समय कुकुरप्रति समर्पित गरेकी छन्।

जग्गाको उनले वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ। १० वर्षको लागि लिएको जग्गामा उनले चार वर्ष बिताइसकेकी छन्।  एक साताअघि मध्याह्न करिब १२ बजेतिर हामी त्यहाँ पुग्दा रोमी कुकुरका ब्लाङ्केट सुकाउन व्यस्त थिइन्।

बिहान उठेर कुकुरहरु छोड्नु, सेल्टर सफा गर्नु, कुकुरका ब्लाङ्केट धुनु, त्यसपछि उनीहरुका लागि खाना तयार पार्नु, कुकुरले खाना खाएका भाँडा सफा गर्नु वर्षौँदेखि रोमीको दैनिकी बनिरहेको छ। उनी यसमै अभ्यस्त भइसकिन्।

प्रकाशित मिति: : 2021-12-08 18:37:00

प्रतिकृया दिनुहोस्