सीता रानाले हङकङमा क्रिकेट खेल्ने

नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्। क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तीमा भनिएको छ।

यो सँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन्। फेयर ब्रेक इन्भीटेसनल-२०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो। प्रतियोगिता आगामी १ देखि १५ मेसम्म आयोजना हुनेछ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीको सहभागिता रहने छ। क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले गर्नेछ।

प्रकाशित मिति: : 2021-12-04 14:46:00

प्रतिकृया दिनुहोस्