देउवालाई घेराबन्दी गर्ने संस्थापनइतरको रणनीति, विपक्षी समूहका नेता तान्ने देउवाको प्रयास

तेजन खड्का

काठमाडौं
File Photo
File Photo

काठमाडौं। सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस चौधौं महाधिवेशन एक सातामात्र बाँकी हुँदा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नेतृत्वको संस्थापनइतर समूह दुवै भावी सभापति जित्ने रणनीति बनाइरहेका छन्।

प्रधानमन्त्री देउवा सभापतिमा दोहोरिने दाउमा छन् भने आधा दर्जन आकांक्षी देखिएको संस्थापनइतर पक्ष देउवालाई घेराबन्दी गर्ने प्रयासमा रणनीति बनाउन प्रयासरत छ।

अधिकांश जिल्लाको प्रतिनिधि चयन भइसक्दा सबै आकांक्षीमध्ये सभापति देउवा सबैभन्दा शक्तिशाली देखिएका छन् तर उनी एक्लैले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत पाउने संभावना भने देखिँदैन।

देउवानिकट रहेका विमलेन्द्र निधीसमेत पहिलो चरणमा चुनाव लड्दा उनको भोट पनि काटिने संभावना रहेको संस्थापन पक्षकै नेताहरू स्वीकार गर्छन्। देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा आकाङ्क्षा देखाएका छन्।

संस्थापनइतर समूहबाट यसअघिको महाधिवेशनमा देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल अहिले पनि सभापति पदको प्रत्यासी रहेको दावी गरिरहेका छन् तर उनले आफू त्याग गर्न तयार रहेको बताएर नउठ्ने संकेत गरेका छन्।

उक्त समूहबाट महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, सुजाता कोइरालालगायत नेताहरुले सभापति पदमा आकाङ्क्षा देखाएका छन्।

काँग्रेस सभापति देउवाले पार्टी कब्जा गरी अपूरणीय क्षति पुर्‍याएको, संविधानले तोकेको समयभित्र महाधिवेशन नगरेर पार्टीलाई अवैधानिक अवस्थामा पुर्याएको आरोप देउवाइतर समूहले लगाइरहेको छ।

अर्को साता मंसीर २४ गते सुरू हुने १४ औं महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवामथि पार्टी कब्जा गरेको आरोप लगाउने पक्षले उनलाई परास्त गर्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने कौतुहलता पार्टीको 'ग्रस रूट' र अरू दलका नेता–कार्यकर्तामा समेत बढेको छ।

संस्थापन इतरसमूह वर्तमान देउवालाई आसन्न महाधिवेशनमा जसरी पनि परास्त गर्ने  बताइरहेका छन्, तर त्यो अनुसारको शक्ति आर्जन गरेको चाहिँ देखिँदैन।

विगतको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूहसमेत संस्थापनइतर समूहमा लागेकाले सो समूहमा उत्साह बढेको त छ, तर नेता र उनीहरुका महत्वाकांक्षा व्यवस्थापन गर्न नसक्दा उक्त समूह आफैँ विवादको भूमरीमा फसेको छ।

संस्थापनइतर पक्षका एक जना हस्ती पूर्वमहामन्त्री प्रकाशमान सिंहले पौडेलसँग असहमति राखेर गुटभेलामा जानै छाडेका छन्। उनीहरुबीच नै एकता हुन नसक्दा देउवालाई कसरी परास्त गर्लान् भन्ने आशङ्कालाई बल पुगेको छ।

सभापति देउवानिकटस्थ मानिएका उपसभापति विमलेन्द्र निधीले आफू सभापति उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। उनले सम्पर्क कार्यालय नै खोलिसकेका छन्। यसले देउवालाई कमजोर बनाएको छ।

देउवा भने विपक्षी खेमाका नेतालाई आपसमा नमिल्ने वातावरण बनाउने र सो खेमाका प्रभावशाली नेतालाई तान्ने रणनीतिमा छन्। देउवाले नेतृ सुजाता कोइरालालाई महाधिवेशनअघि नै मन्त्री बनाउने प्रयास गरिरहेका छन्। यसअघि मन्त्री नबनाएकोमा रामचन्द्र पौडेल र भाइ शशाङ्कसँग रिसाएकी सुजातालाई उपप्रधानमन्त्रीबिना उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री मात्र खान तयार भए तत्कालै दिनसक्ने प्रस्ताव देउवाले पठाएको स्रोतको दाबी छ तर सुजाताले भने यसअघि उपप्रधानमन्त्री बनिसकेकोले त्योभन्दा तल नजाने अडान राखेर 'बार्गेनिङ' गरिरहेकी छिन्।

देउवाले पौडेललाई नै आफ्नो खेमामा ल्याउन 'सत्तारुढ गठबन्धन समन्वय समिति'को संयोजक बनाएको पनि संस्थापनइतर समूहकै नेताहरुको आशङ्का छ।

सभापतिमा देउवालाई हराउने सपना पूरा होला ?  कोइराला परिवारभित्र काँग्रेसको नेतृत्व लिनुपर्ने इच्छा छ तर, शशांक कि शेखर भन्नेमा उनीहरु दुवैले दाबी नछाडेले यो संभव हुन सकेको छैन।

केही दिनअघि दुईमध्ये एकलाई अर्कोले समर्थन गरी सभापतिको उम्मेदवार घोषणा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने योजना शेखरले बनाएका थिए तर त्यो खबर भाइ शशांकलाई पठाएर उनी स्वयम् भेट्न जाँदा शशांकले त्यसमा चासो नदेखाएपछि यो प्रयास बीचैमा अड्किएको छ।

पछिल्लो समय गिरिजापुत्री सुजाता बीपी पुत्र सशाङ्कविरोधी भएकी छिन्। भाइले मन्त्रीमा आफूलाई सिफारिश नगरी मीनेन्द्र रिजाललाई रक्षामन्त्री बनाएको भन्दै उनी नराम्ररी बिच्किएकी छिन्। अब उनी कि आफैँ उठ्ने नत्र शेखरलाई अघि सार्ने तयारीमा छिन्।

धेरै उम्मेद्वार भएकाले पहिलो चरणको चुनावमै परिणाम नआउने लगभग पक्काजस्तै छ। यसअघि तीन जना मात्र उठ्दा पनि परिणाम नआएकोमा यसपटक योभन्दा बढी उम्मेद्वार हुनेहुँदा परिणाम नआउने अनुमान छ।

बढी मत ल्याउने दुई जना मात्रको दोस्रो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधीलाई पनि देउवाबाट अलग बनाई एक्ल्याउन सफल भएमा भने विपक्षी खेमाको संभावना हुनेछ तर पौडेलले नै क्याम्प फेरे भने यो संभावनामाथि ठूलो धोका हुने छ।

प्रकाशित मिति: : 2021-12-02 13:30:00

प्रतिकृया दिनुहोस्