एउटा एनिमल फार्म छ। जहाँ मुसा, भेडा, सुँगुर, गाई, घोडा, कुखुरा, हाँसलगायत जनावर तथा पक्षीहरू बस्छन्।
उनीहरूका आ-आफ्नै दुःख छन्, दुःखमा गाउने गीत पनि उनीहरूको आ-आफ्नै छ। स-साना कुरामा खुसी पनि भइदिन्छन्।
आफैंले लडेको लडाइँ बिर्सन्छन्, लडाइँ नै बिर्सेपछि लड्नुको उद्देश्य सम्झने त कुरै भएन।
केही छन् जसलाई लडाइँ र लडाइँको उद्देश्य मात्र नभएर त्यो लडाइँबाट आफूहरूले पाएको र गुमाएको सबै कुराको हेक्का छ। सबै कुरा सम्झेका छन्।
तर, उनीहरूको भन्दा राम्रो स्मरण शक्ति भएको अरु कोही छ। जो त्यत्ति कुराले उनीहरूमाझ सर्वश्रेष्ठ कहलिएको छ।
उनीहरू मात्र पेटभरिको खाना र शरीरलाई चाहिने जति निँद निदाउन चाहन्छन्। एउटा जनावरको जस्तो जीवन जीउन चाहन्छन्।
त्यसको लागि गर्नुपर्ने परिश्रम पनि गरिरहेका छन्। फल पनि आइरहेको छ। तर, उनीहरूको पेट भरिएको छैन न त निद्रा नै पुगेको छ।