ममाथि नै आक्रमणको प्रयास भएको थियो तर समाचार एकपक्षीय आयो– मन्त्री सिंह

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मन्त्रीको अंगरक्षकको आतंक भन्ने शीर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको उनले बताएका हुन्।

‘मसँग कुरा नै भएको छैन तर मेरो भनाइ राखिएको छ,’ मन्त्री सिंहले भने, ‘समाचार एकपक्ष छ किनकि त्यहाँ दिएको जानकारी नै गलत छ।’ उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेकोसमेत प्रस्ट्याए।

सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले बताए। ‘मेरो प्रदेशअन्तर्गतका सम्पूर्ण वडामा शान्तिपूर्ण रूपमा निर्वाचन भइसकेको छ। केही असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाई विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’, मन्त्री सिंहले भने। उनले आफू छिट्टै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयास गरिरहेको बताए।

उनले बलरा नगरपालिकामा अधिवेशन हुँदा एक मतदान अधिकृत कुटिएको र अर्का एक मतदान अधिकृत बेपत्ता भएकोसमेत बताए।

‘अधिवेशनमा कठिनाइ भयो भन्ने थाहा पाएपछि कार्यकर्ताको आग्रहमा म त्यहाँ पुगेको हुँ। ममाथि नै आक्रमणको प्रयास भएको थियो। तर, समाचारमा एकपक्षीय रूपमा गलत सूचना सम्प्रेषण गरियो’ मन्त्री सिंहले भने। उनले यसै सातामा क्षेत्रीय अधिवेशन सक्ने तयारीमा आफूहरूरहेको समेत प्रस्ट्याए।

प्रकाशित मिति: : 2021-12-01 12:47:00

प्रतिकृया दिनुहोस्