नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभियान तामझामसँग मनाइरहँदा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला भने वर्षौंदेखि हिंसा सहेरै भएपनि आफ्नो गुजारा चलाउन बाध्य छन्।
सरकारले मनाउने यस्ता अभियानले हामीलाई खै के दियो, एकबोरा चामलका लागि हामी संस्थाको शरण पर्नुपरेको छ। ‘विश्वास नेपाल’ नामक संस्थामा भेटिएकी पार्वतीले आफ्नो पीडा यसरी पोखिन्।
आफूले काम गरिरहेको दोहोरी बन्द भएपछि साँझबिहानको छाक टार्नको लागि एकबोरा चामलको जोहो हुन्छ कि भन्दै संस्थामा पुगेकी थिइन्।
मैले उनलाई ‘बहिनीको घर चाहिँ कता नि!’ भन्नेबित्तिकै चश्माभित्र लुकेको उनको आँखा एक्कासी रसाए। नाकको डाँडी तल झरेको मास्कले अनुहार छोप्दै भनिन्, ‘म्याम मेरो त घरगाँउ आमाबाउ कोही नि छैनन्! म जन्मेपछि मेरा वाउआमा मरेअरे। काकाले खै कताबाट काठमाडौं ल्याएछन्। ११ वर्षक हुँदा रोगले थलिएर काका पनि मरे। त्यसपछि त मेरो टेक्ने भुइँ र ओतलाग्ने छानो सबै हरायो।’
सानै उमेरमा ज्यामी काम गर्दा गर्दै आफूभन्दा १७ वर्ष जेठो नुवाकोटको केटासंग विहे गरिन्। आमाबाको न्यायो काख कहिल्यै नपाएकी उनले. पतिको साथ पनि के पाउँथिन्। उनले भनिन्, ‘सधैँ रक्सी खाएर कुट्थे। पापी भएर होला, उनलाई नि भगवानले छिटै लगे।’ पार्वतीले बूढा मरेकोमा कति पनि दुखेसो पोखिनन्।
भुइँचालो जानुभन्दा एक वर्षपहिला बुढा मरेपछि छोरीहरूलाई संस्थामै राखेर हुर्काएकी उनले आफू भने ‘दोहोरी डान्सबार’ मा काम गर्न थालिन्। ८ वर्ष दोहोरीमा काम गरेकी पार्वतीलाई यो पेशा छाडेर अरु केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।
‘किन ?’ भनेर प्रश्न गर्दा उनको जवाफ छ, ‘समाजले हामीजस्ता दोहोरी डान्सबारमा काम गर्नेलाई कोरोना रोग नआउँदा पनि मुख लुकाएर बाच्नुपर्ने बनाएको छ। हामीलाई पनि त मुख खोलेर निर्धक्कसँग समाजमा खुलेर बाच्न मन लाग्छ नि, हैन र ?’
पार्वतीले चश्माभित्रबाट बगेको आँसुलाई मास्क खुम्चाउँदै पुछिन्। यतिबेला पार्वतीका दुई छोरी १४ र १६ वर्षका भएका छन् भने उनी ३१ वर्ष पुगिछन्। उनी भन्छिन्, ‘शरीर भएजतिको रोगले थिचेर राखेको छ मर्नभन्दा पहिला छोरीहरूलाई नागरिकता बनाइदिन पाए अलि सुविस्ताले सास जान्थ्यो कि !’
उनको कुरा सुन्दा यस्तो लाग्थ्यो– दुःखले खारिएकी उनी यतिबेला जीवन गुजाराको जोहोसँगै आफू र छोरीहरूको नागरिकताको लागि एक्लै लडिरहेकी छन्।
पार्वतीभन्दा फरक कथा बोकेकी रीता ठकुरी चार वर्षअघि काम खोज्दै सुदुर–पश्चिमबाट १७ वर्षको उमेरमा काठमाडौ आइपुगिन्। कक्षा ११ को परीक्षा दिएर काठमाडौं पसेकी उनी आफ्नो भविष्य खोज्दै शहर त पसिन् तर यहाँ आइसकेपछिको अवस्था उनले सोचेकोजस्तो पटक्कै भएन।
पुस महिनाको जाडो। कुचुक्क परेको सानो चिसो कोठा। ‘अनि भुँईमा तन्नामात्र ओछ्याएर भोकै सुत्नुपर्दाको पीडा म शब्दमा कसरी भनौँ?’, सरिताले आफ्नो विगत सम्झदै गहभरि आँशु पारिन्। रीताले भनिन्, ‘गाउकै दाइले दोहोरीमा काम लगाइदिएपछि बल्ल अब दुईछाक खान पाइने भो भनेर त्यो रात ढुक्कले निदाएँ।’
‘दोहोरी भनेको त ठूला–ठूला गायक आएर गाउने ठाउहोला काम पनि सजिलै होला भनेर मख्ख परियो तर ओहो त्यो त अध्यारो कोप्चोमा सुँगुरको खोर जस्तो पो रैछ’, उनले नाक खुम्च्याउदै भनिन्।
साहूले ठाडो बोलीमा ‘ओई तँ वेटर हो, ग्राहक ल्याउनुपर्छ कमिसन बनाउनुपर्छ’ भन्छन्। काम भने भाँडा माझ्नेदेखि कपडा धुने सबै गर्नुपर्छ। कोठाभाडा पाँच हजार तिर्नुपर्छ तर तलवब ३ हजार मात्र छ। त्यो पैसा पनि समयमा कहिल्यै दिँदैनन्।
उनले भनिन्, ‘दिउँसो ३ बजे काममा आयो, भोलिपल्ट बिहान ४ बजे भेडाबाख्राजस्तो एउटै टयाक्सीमा १३–१४ जना थिचोमिचो गर्दै कोठा जानुपर्छ। हामी मान्छे हैन, कागजको भाँडाजस्तो छौँ , प्रयोग गर्ने फाल्ने हो।’
उनले आफ्नो भोगाई मनै कुडिने गरी भनिन्, ‘अहिले २१ वर्षकी भएँ न त हातमा पैसा छ न इज्जत। मास्कभित्र आफ्नो परिचय लुकाएर बाच्ने बानी परिसक्यो। कहीँ कसैले चिनेर ‘यस्तो काम गरेकी केटी त हो नि’ भनिदियो भने भोलि बिहे नै नहोला भन्ने चिन्ता लाग्छ उनलाई।
‘मान्छेको सोच्ने तरिका र दोहोरी डान्सबारको सिस्टम राम्रो भइदिएको भए हामी पनि टाउको ठाडो गरेर हिँड्न सक्थ्यौँ होला नि है’, छुटिने बेला उनले मलाई नै प्रश्न गरिन्।
गोरखा घर भएकी नीता परियार २४ वर्षमा टेकिन्। आमाको अनुहार कस्तो थियो, उनलाई सम्झना छैन। घरकि जेठी छोरी बिरामी बुबा र हजुरआमालाई पाल्नुपर्ने जिम्मेवारी उनकै काधमा आइलाग्यो।
कक्षा ८ मा पढ्दै गर्दा काम खोज्दै चितवन पसिन्। चितवनमा केही समय काम गरेपछि धेरै पैसा कमाउने आशामा काठमाडौं पसेको उनले बताइन्। ‘यहाँको दोहोरीमा काम गर्दा आफूलाई बम्बईमा लगेर राखेको जस्तो फिल हुन्छ’, उनले भनिन्, ‘गेष्टसँग नबसे साहुले तिमीहरू महारानी हौ भन्दै थर्काउँछन् ?’
एकातिर साहुको व्यवहार, अर्कोतिर ग्राहकको दुव्र्यवहारले गर्दा उनलाई यो पेशामा काम गर्न मन नै छैन तर कहाँ जाने उनी आफैँ अन्यौलमा छिन्।
लकडाउन खोल्ने बेलामा दोहोरी खुल्ने भयो भनेर एक जना दिदीले खुशी हुँदै फेसबुकमा स्ट्याटस् राखेकी थिइन्। त्यसमा एक जनाले लेखेको कमेन्ट सम्झेर उनी भक्कानिइन्।
आँखाको आँशुलाई जबर्जस्ती रोक्दै उनले भनिन्, ‘अर्काको पोई बिगार्ने यस्ता दोहोरी बन्दै भएको राम्रो भनेर एकजनाले कमेण्ट गर्नु भएको थियो। हामी कसैलाई घर–घरमा बिगार्न गएको त छैनौँ नि भनी कमेण्टमै रिस त पोखेँ तर त्यो दिनदेखि साच्चै नै समाजले हामीलाई कोठीकै महिला जस्तो व्यवहार गर्ने रैछ भन्ने लाग्यो।’
‘कोरोना हटेपछि तपाईंले त मास्क खोलेर हिँड्नुहोला तर हामी त यही मास्कभित्र अपराधीझैँ भएर बाँच्नुपर्ने बाध्यता छ नि, हैन ?’
संसारको जुनसुकै मुलुकमा पनि मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारलाई अन्य कामदारसरह इज्जत दिइन्छ तर नेपालमा भने यो व्यवसायमा रहेका किशोरी तथा महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको पाइन्छ।
नेपालमा शाह बंश र राणा शासनकालमा वि.सं १९०३ देखि २००७ सालसम्म विशेष गरी नाच्न र गाउनका लागि महिलाको प्रयोग भएको उदाहरण परापूर्वकालदेखि पाइन्छ।
सुरु–सुरुमा पहाडी जिल्लाका विशेष गरी सिन्धुपाल्चोक र नुवाकोट, जिल्लाका जनजातिका छोरीहरू राणा दरबारमा सुसारे नर्तकी र गवैया बनाउनको लागि ल्याउने गरिन्थ्यो।
०४६ सालको राजनीतिक परिवर्तनदेखि भने मनोरञ्जनको क्षेत्र स्थापित भएको पाइन्छ भने सन् ०५८ सालदेखि मनोरञ्जन क्षेत्रका उद्योगहरू क्याविन रेष्टुराँ, मसाज पार्लर, दोहोरीजस्ता उद्योगहरू व्यापक रुपमा फस्टाएको हो।
१० वर्षे माओवादी शसस्त्र द्वन्द्वकालमा सुरक्षा र रोजगारी खोज्दै गाउँबाट शहर पस्ने बालिका, किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएपछि यस्ता मनोरञ्जनको क्षेत्रमा महिला तथा बालिकाको संख्यामा बढ्दै गएको हो।
मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला तथा बालिकाको यकिन तथ्याङ्क नभए पनि ‘तेरे देज होम्स’ले सन् २००९मा गरेको अध्ययन अनुसार झण्डै सात हजार महिला तथा बालबालिका क्याविन रेष्टुरेण्टमा र चार हजार डान्सवारमा काम गर्छन्।
यसैगरी झण्डै एक हजार जना मसाज पार्लरमा काम गर्दछन्। महिला मन्त्रालयले सन् २००८ मा गरेको अध्ययन अनुसार, ४० हजार महिला कामदारहरू यस क्षेत्रमा काम गर्ने गर्छन्।
एक्सन् एडले सन् २००४ मा गरेको अध्ययनअनुसार, मनोरञ्जनको क्षेत्रमा काम गर्ने ५२ प्रतिशत किशोरीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पार्ने गरेको देखिएको छ भने माइती नेपालले सन् २०१० मा गरेको अध्यययन अनुसार मनोरञ्जनको क्षेत्रमा काम गर्ने १७ प्रतिशत कामदारले आफ्ना साथीहरू सोही क्षेत्रबाट बेचबिखनमा पर्नेगरेको बताएका छन्।
उक्त अध्ययनअनुसार, ८२ प्रतिशतले सो क्षेत्रमा ग्राहकसँग क्याविनमा बस्नुपर्ने, यौन सम्बन्ध र यौन मनोरन्जन दिनुपर्ने बताएका छन्। ७८ प्रतिशतले यौन दुर्व्यवहारको अनुभूति गरेका छन् भने ३५.७ प्रतिशतले ग्राहकसँग अनिच्छुक यौन सम्बन्ध राख्नुपर्ने बाध्यता रहेको बताएका छन्। यसैगरी ६७.७ प्रतिशत्ले २५०० भन्दा कम तलब पाउने बताएका छन्।
‘विनरक’ नामक संस्थाले गत वर्ष गरेको एक अध्ययनमा मनोरञ्जन क्षेत्रमा काम गर्ने ७० प्रतिशत कामदारले आफुहरूले यौन हिंसामा परेको बताएका छन् भने ७२ प्रतिशतले तोकेअनुसारको काम गर्नुपरेको दुखेसो पोखेका छन्।
गरिबी र अशिक्षाका कारण कामको खोजीमा भौँतारिएका अधिकांश किशोरीका लागि सजिलै जागिर पाउने थलोको रुपमा देखिएको छ– मनोरञ्जनको क्षेत्र। यसलाई व्यवस्थित र मर्यादित गराउने सवालमा केही गैरसरकारी संस्थाहरूले वर्षौंदेखि पहल गरेका छन् तर सरकारले यो विषयलाई राष्ट्रको प्रतिष्ठाको विषय बनाउन चाहेको देखिँदैन।
अवकास प्राप्त सुरक्षाकर्मी तथा राजनीतिज्ञहरूको लगानी रहेकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन बनाइएका नीति, नियम तथा मापदण्डहरू कागजमा मात्र सीमित भएको स्वयम् यस क्षेत्रमा संलग्न होटल रेष्टुरेण्ट तथा मसाज पार्लरका व्यवस्थापकहरू बताउँछन्।
आन्तरिक र बाह्य बेचविखनको थलोको रुपमा जरो गाडेर बसेको यस क्षेत्रको विकृति तोड्न नसकेसम्म पार्वती, रीता जस्तै हजारौँ किशोरी तथा महिला वर्षौं वर्षसम्म पनि मास्कभित्र आफ्नो परिचय लुकाएर बाँच्न बाध्य रहिरहने छन्।