स्वास्थमन्त्री विरोध खतिवडाले १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउने ‘मोडोना’ र ‘फाइजर’ नामका कोरोना भाइरसविरुद्धको 'भ्याक्सिन' (खोप)को एक करोड मात्रा अमेरिकासँग किन्न नेपालले सम्झौता गरिसकेको बताएका छन्। बिएल नेपाली सेवासँगको 'विशेष भिडियो संवादमा उनले त्यो उमेर समूहका सबैलाई पुग्ने खोप एक महिनाभित्र नेपाल आइपुग्ने जानकारी दिए।
‘त्यो एक करोड डोजले १२–१८ वर्ष समूहलाई पुग्छ। त्यो १२–१८ वर्षका लागि मात्र प्रयोग हुने खोप होइन, १२ सम्मलाई लगाउन मिल्ने, त्योभन्दा माथिको उमेर समूहलाई पनि लगाउन मिल्ने खोप हो त्यो,’ उनले भने।
१२ वर्षमाथिको उमेर समूहका बालबालिकाको लागि एक लाख खोप अग्रिम नै आइसकेको र कात्तिक २८ बाट दिन सुरु गरिसकिएको पनि उनले बताए। ‘टीबी, मुटु रोग, मिर्गौलाका बिरामी, क्यान्सर भएकालगायत अशक्तहरूलाई वृद्ध बालबालिका लगायतलाई सातै प्रदेशमा सुरु गरिसकेका छौँ। त्यो तत्काल अहिले आएका एक लाख मात्राबाट सुरु गरेका हौँ’, मन्त्री खतिवडाले भने, ‘अब एक महिना आसपासमा बालबालिकाका थप खोपहरु आउन थाल्छ। बालबालिकाका लागि एक करोड खोप अब एक महिना आसपासमा आइपुग्छ। हाम्रो जनसंख्याअनुसार पर्याप्त हुन्छ भन्ने अनुमान छ। त्यो उमेर समूहको ७०–८० लाख जनसंख्या होला।’
१२ वर्षभन्दा मुनि उमेर समूहका लागि कोरोनाविरुद्धको खोप अहिलेसम्म डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले मान्यता दिएको भनेर सरकारको जानकारीमा नआएकाले बताउँदै स्वास्थमन्त्री खतिवडाले भने, ‘अमेरिकाले पाँच वर्षभन्दा माथिकालाई लगाउन सुरु गरिसक्यो रे भन्ने हामीले सुनेका छौँ। चीन, भारतलगायतले दोस्रो र तेस्रो परीक्षण सकेर मान्यताका लागि डब्लुएचओलाई भनिरहेका छन् भन्ने छ।’
सबै खोपलाई डब्लुएचओको स्वीकृति आवश्यक नहुने बताउँदै मन्त्री खतिवडाले कतिपय देशले आफ्नै देशको उत्पादनलाई त्यहीँको मेडिकल काउन्सिलहरुबाट स्वीकृति लिएर लगाएको पनि जानकारी दिए। ‘हाम्रो उत्पादन हाम्रो देशको सरकारले स्वीकृति दियो भने लगाउन सक्छौँ। छिमेकी देशले विश्वास गर्छ भने उसले पनि लगाउन सक्छ’, उनले भने, ‘हाम्रोजस्तो ठाउँमा डब्लुएचओको मान्यताप्राप्त नै लगाउँदा भोलि केही तलमाथि पर्यो भने पनि त्यो जोखिम कम हुने हुनाले त्यसैलाई प्राथमिकता दिनुपर्छ। भारतमा पनि प्रयोगमा ल्याउन थालिसक्यो रे भन्ने सुनेका छौँ।’
मन्त्री खतिवडाका अनुसार, कोभिड–१९ सुरु भएपछि पहिले १८ वर्षमाथिको लागि मात्रै दिने ‘भ्याक्सिन’ (खोप) उत्पादन भएर र सरकारले अभाव नहुने गरी खोपको व्यवस्था गरिसकेको छ। ‘साढे २ करोडजति आएर दिइसकेका छौँ। अब चार–साढे चार करोड जति सम्झौता गरिसकेका छौँ या पाइपलाइनमा छ। भुक्तानी भइसकेको छ’, उनले भने।
कोरोनाको तेस्रो लहर आउने हल्ला भइरहेको बारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यसको पनि कुनै आधिकारिक प्रमाण छैन। आउँदैन भनौँ त्यो पनि थाहा छैन। तेस्रो पछि चौथो आउँछ कि आउँदैन भन्ने पनि कुनै आधार छैन। पहिलोबाट दोस्रो लहर आएको हुनाले तेस्रो पनि आउँछ कि भन्ने हल्ला चलेको छ। फेरि पछिल्लो चरणमा युरोपतिर पछिल्लो चरणमा बढेकोलाई पनि कतिपयले तेस्रो लहर भनेका छन् तर विश्वव्यापी रूपबाट त त्यो छैन।’
‘तेस्रो लहर आउँदा पनि र नआउँदा पनि हामी आफ्नो तयारीमा बस्नुपर्छ। त्यो सरकारको ‘ड्यूटी’ हो’, मन्त्री खतिवडाले भने, ‘हामी तयारीमा छौँ। पहिलो र दोस्रो लहरका लागि जस्तो तयारी गरेका थियौँ, त्यसलाई पनि सरकारले तयारी गर्नुपर्छ।’
१२ वर्षमाथिका बालबालिकाको खोपको उत्पादन अमेरिकामा भएको र त्यसैले मान्यताप्राप्त गरेकाले त्यहीँबाट नेपालले किनेको उनले बताए। ‘भारत वा चीनबाट उत्पादन भएको भए त्यहीँबाट लिन्थ्यौँ। कुनै पनि देशबाट लिन हामीलाई अनिवार्य छैन’, उनले भने।
डब्लुएचओले कोभ्याक्स विश्वव्यापी प्रत्येक देशको जनसंख्याको २० प्रतिशतलाई निःशुल्क खोप दिने व्यवस्थाअनुसार ६० लाख खोप निःशुल्क दिने भनेर स्वीकृत भएको जानकारी दिए। ‘डब्लुएचओले सम्पन्न देशहरुबाट एउटा कोष खडा गर्यो, गरिब देशलाई हेर्ने दायित्व हो भनेर २० प्रतिशत दिन्छु भन्यो, त्यो चाहिँ जुनसुकै देशबाट आइरहेको छ’, उनले भने, ‘कहिले चीनले पठाएकोमा पनि ६० लाख आएको छ भने पनि त्यसमा १५ लाख डब्लुएचओको हुन सक्छ। भारत, जापान, अमेरिकाले दिएको खोपमा पनि त्यो हुनसक्छ। त्यो पनि यसैमा गाँसिएर आएको छ।’
सरकारले १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकका लागि चैत मसान्तसम्म खोप दिइसक्ने लक्ष्य राखेर अभियान चालेको बताउँदै उनले भने, ‘हाम्रो लक्ष्यपूर्ति हुनेतिर गएको छ। एउटा दिन नसक्ने भनेको अभाव भएर हो। खोप अभाव छैन। छ करोड हाराहारीमा खोप हामीसँग छ। साढे २ करोड जति खपत भएको छ।’
खोप दिने संरचना देशैभरिसंरचना विकास गरिसकेको बताउँदै मन्त्री खतिवडाले भने, ‘खोप दिनका लागि वरिष्ठ विशेषज्ञ चिकित्सक चाहिने पनि होइन। सामान्य तालिमप्राप्त नर्स वा अहेब वा डाक्टर सबैले दिनसक्ने हुनाले जनशक्तिको पनि अभाव भएन।’
खोप लगाउने व्यक्ति खोपकेन्द्रसम्म नआउने समस्याका कारण २० प्रतिशतजति जनसङ्ख्या खोपकेन्द्रसम्म आइपुग्दैन कि भन्ने चिन्तामा सरकार छ। ‘एउटा चाहिँ वृद्धवृद्धा अशक्तहरु रोगका कारण, अर्को चाहिँ सूचना पाएर पनि हलो जोत्ने, मकै खन्ने खाने, त्यहाँ खोप लगाउन गएर के काम भन्ने लापरवाहीले हुनसक्छ’, मन्त्री खतिवडाले भने, ‘हामीले जतिसुकै हल्ला गरे पनि कैयौँ कुनाकाप्चामा खोपको सूचना नपुगेको पनि हुनसक्छ। यस्तो जनसङ्ख्यालाई कसरी हाम्रो खोपकेन्द्रसम्म आउने वातावरण बनाउने चुनौती छ।’
दुवै खोप दिइसकेकाको लागि फेरि इम्युनिटी बढाउन ‘बुस्टर डोज’ खोप दिने भन्नेबारे सरकारले कुनै निर्णय गरिसकेको छैन। ‘त्यो बुस्टर भनेको कुनै नयाँ खोप होइन भन्ने मैले बुझेको छु। एक वा दुई खोपले कसैले एक वर्ष, कसैले ९ महिना काम गर्छ भन्छन्। कसैले छ महिना पनि भन्छन्’, मन्त्री खतिवडाले भने, ‘केही कारणबश खोपले काम नगर्दा फेरि बल्झिने हो कि भन्ने हिसाबले तेस्रो डोज दिने भनिएको छ, त्यो चाहिँ आवश्यक छ कि छैन भन्ने निक्र्यौल भएको छैन।’
दोस्रो मात्रा खोप पनि सिध्याएपछि मात्र सरकार ‘बुस्टर’ को चरणमा प्रवेश गर्ने बताउँदै मन्त्री खतिवडाले भने, ‘बुस्टर डोज चाहिँ अहिलेसम्मको हिसाबमा स्वेच्छिक हो जस्तो लाग्छ।’