चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहिँदा किसान चिन्तित

दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको करिब तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन्।

शीतभण्डारमा आफूले राखेको एक सय २ बोरा आलुको बीउ कुहिएपछि किसानहरुमा समस्या उत्पन्न भएको कृषि सहकारी संस्था लिमिटेड रतुवमाई–९ ले जनाएको छ। 

एक बोरामा ५० केजी आलु थियो। कृषकले गत चैतमा प्रतिबोरा ३६५ रुपैयाँ तिरेर घरमै फलाएको उन्नत जातको आलु बीउका लागि राखेका थिए।

‘सहकारीका तर्फबाट दमक पुगेर आलुको बीउ लिएर आयौँ’ सहकारीका संचालक सदस्य दुर्गाप्रसाद गौतमले भने, ‘यहाँ आएर बोरा खोल्दा त आलु सबै कुहिएको रहेछ।’

रोप्न माटो तयार पारेर बीउ लिन गएका किसानले आलुको बोरा खोल्दा सबै कुहिएको भेटेका हुन्।

सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर किसानलाई तत्काल राहत दिलाउन पहल गरिरहेको गौतमको भनाइ छ।

आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकता अनुसारको बीउ कोल्ड स्टोरमा भण्डारण गर्दै आएका थिए। 

बीउ आलु कुहिएका बारेमा कोल्ड स्टोरले जानकारी नगराएको र सहकारीमा लिन जाँदा सबै कुहिएको पाइएको रतुवामाईका एक किसानले बताए। 

चिन्तित मुद्रामा भेटिएका उनले संरक्षणका लागि कोल्ड स्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरुले व्यहोर्नुपर्ने माग गरे।

कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्ड स्टोरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए।

जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए।

प्रकाशित मिति: : 2021-11-18 14:40:00

प्रतिकृया दिनुहोस्