हरेक सासमा विषालु हावा निलिरहेछौं हामी

आयोमेल

काठमाडौँ

दिनभरि पनि तिखारिन नसकेको मंगलबारको घाम पाँच बज्दा नबज्दै झन् मलिन बनेर पश्चिमी क्षितिजमा लुक्न हतारिइसकेको थियो। बिहानैदेखि काठमाडौंलाई ‘जाडो’ले थुरथुराइरहेको थियो।

र, दिउँसोपख मौसम पूर्वानुमान महाशाखाले भनिदियो- काठमाडौंमा आज वर्षकै चिसो दिन भयो।

यो मौसमै त्यस्तै हो।

जुम्लामा मंगलबार नै तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरिसकेको छ। ८ डिग्री सेल्लियसमा चिसिइरहेको काठमाडौंमा त घामका किरण कसरी पो तंग्रिन्थे र!

यसअघि नै मौसमविदहरूले अनुमान सुनाइसकेका छन्– यो वर्ष काठमाडौंको तापक्रम माइनस सम्मै पुग्नसक्छ। घामका किरणहरू पारिला हुनेछैनन्। तर यो काठमाडौंको पहिलो ‘चिसो इतिहास’ भने हुने छैन। आजभन्दा ३५ वर्षअघि अर्थात् २०४३ पुस २७ गते काठमाडौं माइनस ३.५ डिग्रीसम्मै चिसिएको थियो।

शरद याम सकिएर अब हिँउद सुरू भइसकेको छ। मंसिर १ त्यसैको सुरूवाती दिन हो। मनसुन छिचोलेर यो वर्ष अलि ढिलैसम्म वर्षा भयो। त्यसैले शरद याम पनि हुनुपर्नेजति पारिलो हुन सकेन।

एकातिर चिसोको यो भयानक सुरूवात अनि छिमेकी देश चीन र भारतका आकाश छोप्दै गरेको दूषित हावा।

नेपालमा के होला?

झनझन् चिसिँदै गएको मौसम। जाडो याममा वर्षा विरलै हुन्छ। उसै पनि आकाश धुम्मिइरहन्छ। त्यसैपनि रूखका पातहरूमा धुलोको पत्र बाक्लिएकै हुन्छन्। सडकहरू धुलाम्मे हुने बेलै यही हो। अर्थात् सुख्खा याम।

हाम्रा आकाशगंगामा पनि त्यस्तो फोहोरको एउटा पत्र टाँसिइरहेको हुन्छ। मनुसुनको निरन्तर झरीले त्यसलाई पखाली दिन्छ। त्यसैले त्यो बेला चल्ने हावामा फोहोरका कणहरू सँगसँगै उड्दैनन्। अर्थात् फोहोर निकै कम हुन्छ। यो बेला पानी पर्दैन र यो बेला हावा त्यसै पनि फोहोरका कणहरूमा अल्झिएर बाक्लिइरहेको हुन्छ।

प्रकाशित मिति: : 2021-11-18 11:13:00

प्रतिकृया दिनुहोस्