मुगुका अग्निपीडितले मुख्यमन्त्रीसँग भक्कानिँदै भने- तपाईंहरूले दिएको राहत राख्ने ठाउँसमेत छैन, ओत लाग्न वास चाहियो

नयाँ पत्रिका दैनिक

अच्युतराज भण्डारी
बुधबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पीडा सुनाउँदै मुगुका अग्निपीडित । सोमबार राति भएको आगलागीले गमगढी बजारका २१ घर पूर्ण रूपले नष्ट भएका छन्, कठ्यांग्रिँदो जाडोमा पीडितहरू खुला आकाशमुनि पुगेका छन् । तस्बिर : अच्युतराज भण्डारी

‘पकाउने भाँडाकुँडा छैन, सुस्ताउने बिछ्यौना छैन। आङ ढाक्ने कपडासमेत मागेर लगाउनुपरेको छ। कतिसम्म भने तपाईंहरूले दिएको राहत राख्ने ठाउँसम्म छैन।’ राहत बाँड्न पुगेका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष गमगढीकी अग्निपीडित झोबा लामाले सुनाएको विवशता हो यो। सोमबार मध्यरातिबाट लागेको भीषण आगलागीले गमगढीस्थित तल्लो बजारका २१ घर जलेर खरानी भएपछि मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकोप्टर चढेर बुधबार घटनास्थल पुगेका थिए।

अग्निपीडितहरूले शाही र उनीसँगै गएका प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई रुँदै आफ्ना दुःख सुनाए। ‘पतिको मृत्युपछि जसोतसो गरी टुहुरा बच्चा यही घरमा पालेकी थिएँ। अनेक दुःख गरेर बनाएको घर एकछिनमै खरानी भयो। अब टुहुरा बच्चा लिएर म कहाँ जाउँ ?’ झोबाले रुँदै मुख्यमन्त्रीसमक्ष दुःख बिसाइन्। उनीजस्तै घरबारविहीन भएका अरू पीडितले पनि तत्कालै वासस्थानको व्यवस्था गर्न प्रदेश सरकारका अगुवासमक्ष गुहार लगाए। 

प्रकाशित मिति: : 2021-11-18 07:25:00

प्रतिकृया दिनुहोस्