दिल्लीका विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन्। त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन्। दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन्। दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ।

दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ।  सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ। सामान्यतया शून्य देखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ।

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो। उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन्। हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ।

प्रकाशित मिति: : 2021-11-17 14:30:00

प्रतिकृया दिनुहोस्