दुर्गम गाउँ धबाङमा प्रहरी चौकी स्थापना

रोल्पाको दुर्गम गाउँ धबाङमा प्रहरी चौकी स्थापना भएको छ। यसअघि जिल्ला प्रहरी कार्यालयले हेर्दै आएको उक्त गाउँको शान्ति सुरक्षाको काम अब गाउँकै प्रहरी चौकीबाट हुने भएको हो।

रोल्पा नगरपालिका–१० धबाङको शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको अस्थायी प्रहरी चौकी धबाङको सोमबार प्रमुख जिल्ला नवराज सापकोटाले उद्घाटन गरे।

चौकीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले दुर्गम गाउँमा रहेको बाल विबाह, महिला हिंसा जस्ता सामाजिक समस्यालाई न्यूनिकरण गर्न प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्ने बताए।

विगत लामो समयदेखि प्रहरी चौकी स्थापनाको माग गर्दै आएका धबाङबासीको माग बल्ल सम्बोधन भएको छ। गाउँमा बढ्दै गइरहेको अपराध र भौगोलिक विकटताको समस्यालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीको भनाई छ।

‘जिल्लामा धेरैजसो हात्महत्याका घटना धबाङमा हुने गरेको छ’ सुवेदीले भने ‘यस्ता घटनालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको हो।’

रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मानबहादुर खत्रीले लामो समयदेखिको निरन्तर प्रयासले गाउँमा प्रहरी चौकी स्थापना गर्न सफल भएको बताए।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको प्रहरी चौकी पुनः स्थापना भएपछि विभिन्न आपत विपत पर्दा जिल्ला प्रहरी कार्यालयकै भर पर्नुपर्ने धबाङ बासीको बाध्यता हटेको छ।

प्रकाशित मिति: : 2021-11-16 12:25:00

प्रतिकृया दिनुहोस्