अन्योलको भुमरीमा नेपाली फुटबलको मेरुदण्ड

File Photo
File Photo

जब शीर्ष डिभिजनको लिग सुरु हुन्छ, तब एकै पटक देशको फुटबलका सबै पक्ष चलायमान हुन्छन्। नेपालमा पनि केही दिनमा शहीद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ। स्वाभाविक रूपमा राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग सुरु हुन लाग्दा नेपाली फुटबल तरंगित छ।

३ मंसिरबदेखि सुरु हुने लिगका अधिकांश खेलहरू ‘फ्लड लाइट’मा खेलाउने अखिल नेपाल फुटबल संघको तयारी छ। दशरथ रंगशाला र सातदोबाटोको एन्फा कम्प्लेक्समा लिग गराउने पक्का भइसकेको छ। यसका साथै च्यासलको मैदान र पोखरा रंगशालामा पनि केही खेल लैजाने प्रयास भइरहेको छ। यसपालि लिगको अर्को नयाँ पक्ष भनेको प्रतियोगिताका खेलहरू सातामा तीन दिन शुक्रबार, शनिबार र आइतबार मात्र गराइने भएको छ।

नेपालमा जति पनि लिग भए, ती जहिले पनि चर्चामै रहे। चर्चा हुनु पनि पर्छ। चर्चा किन भए भन्दा जहिले पनि नयाँ–नयाँ ढाँचामा लिग हुँदै आए। जहिले पनि लिगलाई परीक्षणका रूपमा लिइँदै आइयो। एक प्रकारले लिगमा बढी प्रयोग भयो। प्रयोग वा परीक्षण जस्ता सकारात्मक सुनिने शब्द प्रयोग गरे पनि खासमा चाहिँ नेपाली लिगमा अहिलेसम्म भएको भनेको मनपरी हो।

नेपाली फुटबलका एक जानकार भन्छन्, ‘नेतृत्वलाई जे लाग्यो त्यही, जे सजिलो भयो त्यही। नेतृत्वको लहडभन्दा माथि लिग कहिल्यै उठ्न सकेन।’ 

साँच्चै लिगको इतिहास पल्टाउने हो भने उनको भनाइ मान्न कर लाग्छ। कहिले रेलिगेसन नै नहुने, कहिले दुई टिम रेलिगेसनमा पर्ने, कहिले एक टिम रेलिगेसन पर्ने, कहिले सिंगल राउण्ड रोबिन त केहिले डबल राउण्ड रोबिन। यति मात्र होइन, लिगलाई समूहमा समेत खेलाइएका स्मरण पनि छन्।

तर, त्यस्तो ढाँचामा भएका लिग अहिलेका पुस्तालाई कमै याद छ। जे भने पनि त्यो एउटा इतिहास हो। नेपालमा २०११ सालमा लिग सुरु भएको मानिन्छ तर त्यसका कथा भेटिन भने गाह्रो छ।

फुटबल र लिगका ज्ञाताहरूसँग बुझ्ने हो भने नेपाली लिग २०११ सालदेखि सुरु भए पनि २०३२ सालयताका मात्र कथाहरू भेटिएका छन्। लिगले त्यसपछि मात्र निरन्तरता पायो।

यो सबै किन भन्दा लिगको एकरूपता नहुनु। यसका कारण लिग मनपरीतन्त्रमै सीमित रह्यो। ‘सुरु गर्‍यो, सक्यो’ यही नेपाली फुटबलको मेरुदण्डको नियति बन्न पुग्यो। हो, साँच्चै परीक्षण वा प्रयोग गरिएको हुन्थ्यो भने प्रत्येक संस्करणका प्रतिवेदनहरू सार्वजनिक हुन्थे। यस कारण यो ढाँचा उपयुक्त भएन, अब अर्को प्रयोग गरौँ भन्ने प्रस्ताव सार्वजनिक रूपमा गरिन्थ्यो अनि मात्र नयाँ ढाँचामा पाइला राखिन्थ्यो। तर, यहाँ त्यस्तो भएको कसैलाई जानकारी छैन। त्यसैले पनि यसलाई परीक्षण र प्रयोगको जामा पहिर्‍याउन दिइनुहुँदैन।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग आयोजना गर्न लिग कमिटी नै बनाएको छ। 

कमिटीले लिग आयोजना त गराउँछ तर लिग मात्र सक्नका लागि गरिन्छ। लिगलाई दीर्घकालीन रूपमा सोचेर न कमिटीले काम गरेको छ, न त एन्फाले नै त्यसलाई अगाडि बढाउन मार्ग बनाएको छ।

लिगकै कारण जुनसुकै देशको फुटबल माथिल्लो स्तरमा पुग्छ र खेलाडीको वृत्ति विकास हुन्छ। तर, नेपालमा ?

‘यो साह्रै दु:खको कुरा हो। हाम्रोमा लिगका जानकार भन्नेहरूले फुटबलको राजनीति गरे। त्यसले गर्दा लिगले धेरै रूप पायो। हाम्रोमा फुटबलको विषयमा कसैले पनि रिसर्च गर्नै चाहेन। लिग गर्न एकै पटक ठूलो काम गर्छु भन्नै पर्दैन, जुन हाम्रोमा हुन सकेन,’ पूर्व राष्ट्रिय खेलाडी तथा हाल विभागीय टोली एपीएफ फुटबल क्लबका प्रशिक्षक कुमार थापा भन्छन्।

‘हाम्रोमा काम भन्दा भाषण ठूलो भयो। एन्फाले राजनीतिक नियुक्तिका भरमा लिग कमिटीमा मान्छे ल्याउँछ। उनीहरूले अनि के गरून् ? उनीहरूले लिग गर्नका लागि मात्र गर्छन्। लिग राम्रो गराउन एन्फाले सबै हेर्ने होइन, लिग कमिटीले लिग कसरी गर्ने, कसरी लैजाने निर्णय गर्न सक्नुपर्छ। लिग कमिटीसँग भिजन हुनुपर्छ। यो कमिटीका मान्छेसँग छैन। मान्छेले फुटबलको इतिहास जानेको भरमा कमिटीमा टिकेर बसेका छन्,’ कीर्तिमानी आठ पटक लिग उपाधि विजेता मनाङ-मर्स्याङ्दी क्लबको स्वर्णकालका कप्तान थापा भन्छन्। 

यता, लिग निर्देशक संजिव मिश्र भने संघमा स्थायित्व नहुनु, लिग देशव्यापी रूपमा नहुनु र क्लबहरूमा समेत निरन्तर लिग खेल्नुपर्ने संस्कार नभएका कारण नेपाली लिगमा बढी प्रयोग हुने र त्यो भइरहने बताउँछन्। 

‘नेपालमा लिग बढी हुनुको कारण भनेकै संघ (एन्फा)मा स्थायित्व नहुनु हो। संघमा आएपछि जसले पनि आफूअनुकूलको लिग गर्न थाले। क्लबमा पनि लिगको संस्कार बसेन। लिग काठमाडौंमै खेल्नुपर्छ भन्ने भयो। फुटबलमा जबसम्म यो हाम्रालागि उत्तम भनेर पाउँदैनौँ, त्यो बेलासम्म प्रयोग हुनु नौलो होइन, त्यो भइरहन्छ।’

प्रकाशित मिति: : 2021-11-16 07:09:00

प्रतिकृया दिनुहोस्