शाही उपाधि गुमाएकी माको अमेरिका प्रस्थान

Photo: Reuters
Photo: Reuters

जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छन्। माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन्। माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो।

विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरुलाई छिचोलेर यो जोडी विमानस्थल पुगेको थियो। उनीहरुले सञ्चारकर्मीले सोधेर कुनै पनि प्रश्नको जबाफ दिएनन्। 

विमानस्थलमा उनीहरूलाई सुरक्षाकर्मीले कडा सुरक्षा प्रदान गरेका थिए।

उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन्। कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन्।

जापानी कानूनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि गुमाउँछन्। सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ।

विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए। अमेरिका पुगेर माकोले काम खोज्ने छिन्। न्युयोर्क राज्यको बार परीक्षामा कोमुरो फेल भएपछि यो जोडीलाई धक्का लागेको छ। अमेरिकामा कानूनी व्यवसाय गर्न कुनै पनि वकिलले राज्यले लिने बारको परीक्षा पास गर्नुपर्छ। कोमुरो हाल न्युयोर्कको एउटा फर्मका कानूनी कारिन्दा हुन्।

माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ। उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ।

राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए। 

चार वर्षअघि इन्गेजमेन्ट गरेपछि यो जोडी विवादमा तानिएको थियो। उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो। कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो। सोही कारण माकोसँगको विवाह  चार वर्ष धकेलिएको थियो।

प्रेम सम्बन्धबारे विभिन्न सञ्चार माध्यमहरुमा नकरात्मक समाचार सार्वजनिक भएपछि माको डिप्रेसनमा पुगेकी थिइन्।

प्रकाशित मिति: : 2021-11-15 08:23:00

प्रतिकृया दिनुहोस्