'नक्कली' नर्सिङ होमको भण्डाफोर गर्ने पत्रकारको हत्या

भारतको बिहारस्थित मधुबनी जिल्लामा कार्यरत एक पत्रकारको हत्या भएको छ।

पाँच दिनअघि अपहरणमा परेका २२ वर्षीय बुद्धिनाथ उर्फ अविनाश झाको शुक्रबार शब फेला परेको हो। मधुबनीको बेनीट्टीमा जलाएर सडक–छेउमा फालिएको अवस्थामा शब भेटिएको स्थानीय प्रहरीले जनाएको छ।

अविनाश सञ्चार–माध्यममा काम गरिरहेका स्थानीय चर्चित पत्रकारसमेत हुन्। उनले 'नक्कली' नर्सिङ होम र मेडिकल क्लिनिकको भ्रष्टाचार र अनियमितताविरुद्ध पटकपटक भण्डाफोर गर्दैआएका थिए। अविनाशले लेखेका समाचारकै कारण कतिपय नक्कली नर्सिङ होम र क्लिनिक बन्द भएका छन्। कतिपय भने जरिवानामा पारेका परे।

रिपोर्टिङको क्रममा धम्की र लाखौँ घुसको अफर आउँदा समेत समाचार लेख्न छाडेनन्। उनको हत्याबारे प्रहरीले अनुसन्धान भैरहेको बताएपनि अन्य कुनै जानकारी दिएको छैन।

स्रोतका अनुसार २२ वर्षीय अविनाशका जेठा दाई चन्द्रशेखर झाले बेनीपट्टी प्रहरी चौकीमा भाइ हराएको उजुरी दिएका थिए। अविनाशले यसक्षेत्रका नक्कली नर्सिङ होम तथा क्लिनिक सञ्चालकहरुको बदमासीबारे लगातार रिपोर्टिङ गरिरहेको उनका सहकर्मीहरु बताउँछन्।

उनको हत्या स्थानीय 'नक्कली' नर्सिङ होम तथा क्लिनिक सञ्चालकहरूले गरेको परिवारको दाबी छ। सम्पर्कविहीन हुनुअघिसम्म अविनाश घरको अघिल्लोपट्टी पटकपटक हिँडेको र फोनमा कुरा गरिरहेको सीसीटीभीमा देखिएको छ।

अर्को दिन परिवारका सदस्यले बारम्बार फोन गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरीलाई खोजी गर्न आग्रह गरेका थिए। अविनाश बेनीपट्टीको अर्को 'नक्कली' नर्सिङ होमलाई कारबाही गराउनका लागि कागजी काम गरिरहेको उनीनिकट सहकर्मीले प्रहरीलाई बयान दिएका छन्।

प्रकाशित मिति: : 2021-11-14 19:10:00

प्रतिकृया दिनुहोस्