यूरोपमा फेरि कोरोनाकाे डरलाग्दो दृश्य, जर्मनीमा संक्रमितको संख्या हालसम्मकै उच्च

बिएल संवाददाता

बर्लिन (जर्मनी)
Photo: Reuters
Photo: Reuters

यूराेपेली देशहरूमा काेराेना महामारीकाे कहर फेरि चर्किएपछि थप डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन्। जर्मनीमा २४ घण्टामै ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एकैदिन यत्राे संक्रमित संख्या पुष्टिसँगै जर्मनीले पाँच महिना यताकै शीर्ष रेकर्ड तोडेको छ।

महामारी सुरु भएयता जर्मनीमा एकैदिन काेराेना संक्रमितकाे संख्या ५० हजार नाघेको भने पहिलोपटक हो। साथै, पछिल्लो २४ घण्टामा २३५ जनाको मृत्यु भएको छ। योसँगै जर्मनीका शीर्ष भाइरोलोजिस्ट क्रिस्टियन ड्रोस्टेनले आगामी दिनहरूमा १ लाखको मृत्यु हुने सम्भावना रहेकाे चेतावनी दिएका छन्।

जर्मनीकाे याे अवस्थालाई आपतकालिन भन्दै ड्रोस्टेनले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। यूराेपमा अहिलेसम्मकाे सबैभन्दा खराब लहर हुनसक्ने चिकित्सकहरू बताउँछन्। पछिल्ला दिनहरूमा संक्रमण र मृत्युदर बढेको छ।

सक्सोनी राज्यमा संक्रमण दर सबैभन्दा बढी छ। पछिल्लो ७ दिनमा प्रति १ लाखमा ४५९ जना संक्रमित थपिएका छन्। राज्यले खोप नलगाएका मानिसलाई बार, रेस्टुरेन्ट तथा सार्वजनिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाएको छ। खोपको दर ७० प्रतिशतभन्दा कम भएकाे हुँदा सरकारले जनतालाई खोप लगाउन आग्रह गरिरहेको छ। जर्मनीमा खोप नलगाएका व्यक्तिहरू सङ्क्रमित हुने उच्च जोखिम बढेकाे छ।

सेप्टेम्बरको आम–चुनावपछि देशभर काेराेना संक्रमितहरूकाे संख्या ह्वातै बढेकाे छ। प्रायः राजनीतिक दलहरू अनिवार्य खोपको विरुद्धमा समेत लागेका छन्।

त्यस्तै, बेलायतमा पनि दिनदिनै ३० हजारभन्दा बढी संक्रमित पुष्टि भएकाे छ। पछिल्लो एक हप्तामा बेलायतमा १२ सय भन्दा बढी र जर्मनीमा ९५० भन्दा बढीको मृत्यु भएको छ। बेल्जियमका स्वास्थ्यमन्त्री फ्र्याङ्क भान्डरब्रुकले पनि आफ्नो देशले कोरोनाको चौथो लहरको सामना गरिरहेको स्वीकार गरेका छन्। फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभर भेरानले पनि कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाे बताएका छन्।

जर्मनी, बेल्जियम, फ्रान्स र बेलायतसँगै नेदरल्याण्ड्स, पोल्याण्ड र रुस जस्ता देशमा पनि कोरोनाको संक्रमण एकाएक फैलिरहेको छ। तर यी देशहरूका दुई तिहाइ भन्दा बढी नागरिकले पूर्ण रूपमा खोप लगाइसकेका छन्। 

जाडो माैसम सुरूभएसँगै युरोपेली देशहरूमा कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार युरोप र रुस–जस्ता क्षेत्रहरूमा नयाँ संक्रमितहरू बढिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-12 09:39:00

प्रतिकृया दिनुहोस्