जिरीबाट अष्ट्रेलिया र अमेरिकामा नेपाली कला बेच्ने सुष्मा

प्रमिला घिसिङ

जिरी (दोलखा) 
Breaknlinks
Breaknlinks

बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने दाेलखाकाे जिरी बजार। प्राकृतिक सुन्दरताले भरिएकाे याे ठाउँ अधिकांश पर्यटककाे पहिलाे राेजाईमा पर्ने गर्छ। त्यसकारण पनि जिरीले नेपालकाे स्विजरल्याण्डकाे उपमा पाएकाे छ।

यही सुन्दर जिरी बजारमा अवस्थित छ– सुष्मा ह्याण्डीक्राफ्ट एण्ड कोसेली घर। जहाँ नेपाली कागजबाट बनेका अनेकाैँ लाेभ लाग्दा हस्तकलाका सामग्रीहरू पाइन्छ। त्यसैले जिरी पुगेर यस काेसेली घरमा पुग्ने जाे काेही पर्यटक खाली हात फर्किदैनन्।

बजारको मध्यभागमा सानो अनि चिटिक्क परेको काेसेली घरमा नेपाली कागजबाट बनेका विभिन्न सामानहरूले सझिएको छन्। जसलाई सझाएकी छिन्– ३८ वर्षीया सुष्मा श्रेष्ठले। सुष्मा आफू जति सुन्दरी छिन् त्याे भन्दा सुन्दर छन् उनले बनाएका नेपाली कागजका सामानहरू।

सुष्मा एक सफल उद्यमी तथा कुशल प्रशिक्षक हुन्। वि.सं. २०४० मा जन्मिएकी उनी पेशाले फेसन डिजाइनर हुन्। बाल्यकालदेखि नै केही फरक शैलीमा काम गर्ने इच्छा राख्ने उनकाे शाेख खेलौना तथा गुडियाहरु बनाउनमा थियाे। त्यसैले उनले एसएलसी उत्तीर्ण गरेपछि उनले पेसन डिजाइन अध्यायन गरिन्।

२०६८ सालमा दोलखा जिल्ला उद्योग वाणिज्य संघ र यूनडीपीको सहकार्यमा सञ्चालन गरिएकाे एक महिने हस्तकला तालिममा उनी सहभागी भइन्। बाल्यकालदेखि नै यसप्रति उनकाे लगाव भएकाेले उनले याे काम सहजै सिक्न सफल भइन्। हातमा सीप र क्षमता भएपछि खाली बस्ने कुरा भएन्। उनी आफ्नाे सीपकाे सदुपयाेग गरेर एउटा हस्तकला उद्याेग सञ्चालन गर्ने निर्णयमा पुगिन्, त्यसपछि २०६९ सालमा जिरीमा जन्मिएकाे थियाे– सुष्मा ह्याण्डीक्राफ्ट एण्ड कोसेली घर।

सानाे लगानीमा सुष्माले सञ्चालनमा ल्याएकाे उक्त काेसेली घरले पर्यटककाे मन मात्रै लाेभ्याएकाे छैन, उनकाे जीवनमा नयाँ–नयाँ खुशीहरू पनि थपिरहेकाे छ। उनकाे जीवन यही काेसेलीले घरमा आकर्षक सामानहरू बनाएर सुष्माले आफ्नाे दैनिकी कटाइरहेकी छिन्।

बिहान सात बजेदेखि पसल खोलेर ग्राहकलाई आफ्नो सेवा, सुविधा दिनु, नयाँ–नयाँ डिजाइनका विभिन्न रबरब्याण्ड, एरिंग, विभिन्न गिफ्ट आइटम बनाउनु र बेच्नु सुष्माका दैनिकी हो।

वि.स. २०६९ सालदेखि निरन्तर ह्याण्डिक्राफ्ट उद्योग सञ्चालन गर्दै आएकी श्रेष्ठ सहकारीमा बाल बचतकर्ता हुँदै सदस्यमा प्रवेश गरेकी थिइन्। अहिले उनी एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्थाकी क्रियाशील सेयर सदस्य समेत हुन्। नेपालमै बसेर मासिक लाखौँ कमाउने उनले विशेष गररे महिलालाई सीप सिकौं र आफ्नै माटोमा केही गरौं भन्ने प्रेरणा दिइरहेकी छिन्।

फेसन डिजाइनिङमा स्नातक गरेकी सुष्मा सीप र क्षमतामा अब्बल उद्यमी हुन्। चौधरी ग्रुप अफ फाउण्डेसनमा मास्टर ट्रेनरको रुपमा रहेकी सुष्मा तालिम दिने क्रममा नेपालका विभिन्न देशहरूमाा पुगेकी छिन्।

एक लाख ५० हजारको लगानीबाट सुरु गरेको उनकाे हस्तकला उद्योगले छाेटाे समयमै बजारमा राम्राे प्रभाव पर्दै जमाउँदै मनग्य आम्दानी समेत गरेकाे सुष्माले बताएकी छिन्। उनले स्थानीय स्रोतसाधन र काम नलाग्ने कागजबाट आकर्षक डिजाइनका गरगहना, फूलदानी, गमला, झुमर, डायरी, टोपी, लेडिज ह्यान्ड ब्याग र विभिन्न पोशाकहरु तयार गर्छिन्। पर्यटकीय आकर्षणको केन्द्र जिरीमा पुग्ने जो कोही पर्यटकले पनि नेपाली कागजबाट बनेका आकर्षक डिजाइनका सामग्रीहरु लिएर मात्रै फर्कने गरेकाे उनले बताइन्।

'जिरी घुम्न आउने पाहुनाहरूले यहाँबाट सामानहरू लिएर जानुहुन्छ', सुष्माले भनिन्,'उहाँहरू नेपाली कागजबाट पनि यति सुन्दर सामान बन्दै रहिछ भनेर उत्साहित बन्नु हुन्छ।'

सुष्मा त्यतिकै सफल उद्यमी बनेकी हाेइनन्। उनले यहाँ सम्म आउनका लागि धेरै संघर्ष गर्नुपर्‍याे। याे व्यवसाय सञ्चालनमा ल्याएकाे सुरूमै उनलाई यस्ताे पेशामा नलाग्न धेरै सुझाएका थिए।

'पछिकाे कुरा छाेडाैँ, काम गर्न सुरू गर्दै देखि सबैले कस्तो पेशा रोजेको यो नगरेर जागिर गर भन्थे, यसाे भन्दा नरमाइलो लागे पनि मैले हिम्मत हारिन्,' सुष्माले संघर्षका दिन स्मरण गर्दै भनिन्,'त्यसैले आज म यो स्थानमा छु, गरे के हुने रहिन्छ र ?'

पहिलाे लकडाउन अघिसम्म विदेशी पर्यटकहरु धेरै आउने भएकाले उनको व्यापार राम्रो भएको थियाे। कोरोना महामारीकाे प्रभाव उनकाे व्यवसायमा पनि पर्‍याे। कोरोना महामारीअघि दैनिक ५० हजारसम्म आम्दानी हुनेमा अहिले १० हजारसम्म कमाउन पनि कठिन हुने उनले बताइन।

उनले हस्तकलासँगै २०७३ देखि बुटिक पनि सञ्चालन ल्याएकी छिन्। फेसन डिजाइन पढेकै कारण उनले पोषाकहरुमा आकर्षक डिजाइनका समेत गर्छिन्। उनको बुटिकमा महिलाहरुले लगाउने वान पीस, गाउन, कुर्ता/सुरुवाल पाइन्छ। उनको बुटिकमा ‘अडर’ अनुसार नयाँ-नयाँ ‘डिजाइन’ का कुर्ता/सुरुवाल, नेपाली कागजबाट बनेको रबरब्याण्ड, ‘एरिंग’, विभिन्न ‘गिफ्ट आइटम’, डायरी पाइन्छ।

'मसँगै ‘ट्रेनिङ्’ लिएका कति साथीहरू विदेश गए तर, मैले नेपालमै निरन्तर कर्म गरिरहेकी छु। विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्छु भनेर लागेकी थिएँ, अहिलेसम्म कामबाट सन्तुष्टनै छु।' सुष्माले भनिन्।

काेराेना माहामारीअघि उनले चार जनालाई राेगजारी प्रदान गरेकी थिइन्। अहिले काम र व्यापार कम भएकाले उनी एक्लैले गरिहेकी छिन्। सुष्माले आफ्ना उत्पादन अष्ट्रेलिया, अमेरिका तथा युराेपका विभिन्न देशहरूमा निर्यात गर्दै आएकी छिन्। नेपालमा पनि आन्तरिक पर्यटकहरुले कोसेली स्वरूप स-साना सामान लग्ने गर्दथे।

उनकाे पसलमा आउने पर्यटकहरु कुनै न कुनै सामग्री नलिई नफर्किने गरेकाे उनले बताइन्। काठमाडौं र पाेखराबाट उनकाे उद्याेगमा उत्पादन भएका हस्तकलाका सामग्रीहरू अत्याधिक मात्रै माग हुने गर्छ। स्थानीय स्रोत साधानको प्रशोधन गरी उद्योगका लागि केही कच्चा पदार्थ बनाउने उनले नेपाली कागज भने काठमाडाैँबाट खरिद गर्छिन्।

सुष्माले जिरीमा हस्तकलासम्बन्धी ‘ट्रेनिङ्’ पनि दिने गर्छिन्। 'मैले यहाँका धेरैलाई याे काम सिकाएकी छु, त्यसमध्ये केहीले आफ्नै व्यवसाय पनि गरेका छन्, याे देख्दा सारै खुशी लाग्छ।' सुष्माले भनिन्।

काेराेना महामारी कम भएसँगै नयाँ जाेश, जागरका साथ काम गरेहेकी उनले अब आफ्ना उत्पानलई बढीभन्दा बढी विदेशमा आयात गर्ने याेजना सुनाइन्।

सुन्दर जिरीका मनमाेहक दृश्यहरू (फाेटाे फिचर)

प्रकाशित मिति: : 2021-11-11 20:03:00

प्रतिकृया दिनुहोस्