लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत’ पुरस्कार प्रदान गरिने भएको छ।
२५ हजार राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा उत्सर्ग फिल्मस् नेपालले अयोजना गरेको ‘उत्सर्ग संगीत अवार्ड’ समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए।
२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा.आचार्यले लोक, आधुनिक र दोहोरी गरी २ सय गीतमा स्वर दिएका छन् भने ५ दर्जन आधुनिक गीतमा संगीत भरेका छन्।
आँखी लाउने गाजलु, देउरालीको डाँडाबाट कल्ले बोलायो, माया लाउँ त मायालु पाइन, बिर्सेछ्यौ कि मायालु काफल खाएको लोकगीत डा. आचार्यले गाएका निकै लोकप्रीय छन्।
उनले संगीत भरेका गीतहरूमध्ये यम बरालको स्वर रहेको ‘मरेको लास नराख घरमा’, लोचन भट्टराईको स्वर रहेको ‘म तड्पिएको हेर्ने हौ भने’ र दिपक लिम्बुको स्वर रहेको ‘सुनगाभा सरी’ पनि निकै चर्चित गीत हुन्।
नेपालमा लोकगीतमा विद्यावारिधि गर्ने पहिलो बनेका डा. आचार्यले नेपालका विभिन्न जाति समुदायका ७ सय गीत संकलन तथा विश्लेषण गरेका छन्। उनका लोकसाहित्य तथा लोकसंस्कृतिका अनुसन्धानमूलक १ दर्जन र अन्यगरी २५ पुस्तकहरु प्रकाशित छन्।