डेढ बर्षदेखि थुनामा रहेकी एक चिनियाँ पत्रकारलाई रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको छ। कोभिडबारे समाचार तयार पारेर फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ परेकी झाङ झानलाई तत्काल रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको हो।
उनलाई गैरकानुनी ढंगले थुनामा राखिएको र झानको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै अमेरिकाले उनको रिहाइको माग गरेको हो।
वुहानमा कोभिड १९ बारे समाचार संकलन गर्ने क्रममा उनलाई गत वर्षको मे महिनामा चीन सरकारले पक्राउ गरेको थियो। पक्राउपछि सरकारले उनलाई चार बर्ष जेल सजाय तोकेको थियो।
उनले जेलभित्रै अनियमित भोक हड्ताल गर्दै आएकी छिन्। हड्तालका कारण झानको स्वास्थ्य अवस्था निकै बिग्रिएको बताइएको छ।
‘झानलाई स्वेच्छाचारी ढंगले थुनामा राखेको र कारागारमा दुव्र्यवहार गरेको विषयप्रति हामीले चीन सरकारको ध्यानाकर्षण गर्दै आएका छौं,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने।
उनको निःशर्त रिहाइ गर्न पनि अमेरिकाले चीनसँग माग गरेको छ। पूर्ववकिलसमेत रहेकी झान सन् २०२२ को फेब्रुबरीमा वुहानको भ्रमण गरेकी थिइन्। महामारीको समयमा त्यहाँको जनजीवनबारे अनलाईनमा एउटा लेख पढेपछि उनी वुहान पुगेकी थिइन। उनले वुहानका सडक र अस्पतालको वास्तबिकताबारे एउटा रिपोर्ट तयार पारेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी थिइन्।
सरकारी अधिकारीहरुको चेतावनीबीच उनले फेसबुकमा पोस्ट गरेकी थिइन्। पक्राउ परेपछि उनले जेलभित्रै भोक हड्ताल गर्दैै आएकी छिन। भोक हड्तालका कारण उनको तौल निकै घटेको विवरणमा जनाइएको छ।