जलवायु सङ्कट र दिल्लीकाे दृश्य

राज राेकाया

नयाँदिल्ली
Photo: AP
Photo: AP

विश्वका तमाम देशहरू जलवायु परिवर्तनको सामना गरिरहेका छन्। प्राकृतिक ऊर्जा स्रोतको प्रयोग दुर्लभ बन्दै गएको छ। अचेल पेट्रोलियम र कोइलामा आधारित ऊर्जाको प्रयोग दिनदिनै बढेकाे देख्न सकिन्छ। दीपावलीलगतै नयाँदिल्लीमा देखिएकाे दृश्य–

०००

दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। उत्सवमा पटाका पड्काउँदा शहरभर विषाक्त हावा फैलिएको छ। कतिपय मानिसले नयाँदिल्ली ‘ग्यास च्याम्बर’जस्तै बनेको टिप्पणी गरेका छन्।

वायु प्रदूषणका कारण स्थानीयहरू तनाब झेलिरहेका छन्। विषाक्त हावाले दिल्लीको अवस्था गम्भीर भएपछि अधिकारीहरूले सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गर्नसमेत दबाब दिइरहेका छन्।

भारतको सर्वोच्च अदालतले पटाका प्रतिबन्ध लगाए पनि दिल्लीबासीले कानूनकाे पालना गरेनन्।

०००

जाडो मौसमको सुरुवातसँगै वायु प्रदूषण ह्वात्तै बढेकाे छ। प्रदूषण रोक्न दिल्ली सरकारले अनेक पहल गर्दा पनि सफलता हात पार्न सकेकाे छैन।

प्रदूषण बढ्नुको कारण– किसानले जलाइरहेकाे पराल, दीपावलीकाे पटाका र निर्माण कार्यबाट उड्ने धुलोलाई मानिएको छ। दिल्लीमा प्रदूषणकाे स्तर खतराको बिन्दुमा पुगेको छ। यो स्तर अझै बढ्ने विज्ञहरूले बताएका छन्। जब मौसम चिसो सुरू हुन्छ, तब हावा पृथ्वीको सतह वरिपरि संकुचित हुन थाल्छ।

दिल्ली सरकारले वायु प्रदूषण दबाउन ठूलो प्लान्ट स्थापना गरेको छ। जसको नतिजा पछिल्लाे समय उत्साहजनक पनि देखिएकाे छ। अन्य ठाउँमा पनि यस्ता प्लान्टहरू स्थापना गर्ने योजना रहेकाे बताइएकाे छ।

वायु प्रदूषणको मुख्य कारण सवारी साधनबाट निस्कने धुवाँ हो। यसलाई न्यूनीकरण गर्न सरकारले धेरै प्रयास पनि गरेको छ। तर नियन्त्रण हुन सकिरहेकै छैन। दिल्लीमा सबैभन्दा बढी वायु प्रदूषण दुई पाङ्ग्रे सवारीका कारण हुने गरेको छ।

दिल्लीमा अनलाइन सपिङमा जोड दिइएको छ। वस्तुभाउ आपूर्ति गर्ने अधिकांशले दुई पाङ्ग्रे सवारी साधन प्रयोग गर्छन्। दिल्लीको सडकमा दुई पाङ्ग्रे सवारी साधनको संख्या लगातार बढिरहेको छ। ती–बाट निस्कने धुवाँ मुख्य चुनौती बनेको छ। 

कार्बन उत्सर्जन घटाउन दक्षिण–एसियाले महत्वपूर्ण भूमिका निभाउन सक्छ। स्वच्छ ऊर्जाको रूपमा सौर्य ऊर्जाको प्रयोग पक्कै पनि लाभदायक हुनेछ। भारतलगायत अन्य देशमा घामको कमी छैन। तर विदेशमा हप्ताैँसम्म पनि घाम देखिँदैन। विदेशीहरूकाे तुलनामा भारतीय, नेपाली, पाकिस्तानी, भुटानीलगायत अन्य मुलुकका नागरिकहरू भाग्यमानी नै छन्।

सौर्य ऊर्जा कहाँ प्रयोग गर्न सकिन्छ? यसको प्रयोग कसरी बढ्छ? यो कुरामा विज्ञहरूले ध्यान केन्द्रीत गर्न आवश्यक छ। सौर्य उर्जाको प्रयोगमा नागरिक पनि सचेत बन्नैपर्छ। कसैगरी ऊर्जाको प्रयोग भारतमा बढ्यो भने यो विश्वका लागि ठूलो उदाहरण हुनेछ। भारतमा कार्बन उत्सर्जन घटाउने अनेकाैँ कारणले छन्। 

०००

अमेरिका र चीनमा सबैभन्दा बढी कार्बन उत्सर्जन हुन्छ। यत्ति हुँदाहुँदै पनि उनीहरूले यसलाई नियन्त्रणका लागि गरेका प्रयासहरू कमै छन्। पृथ्वीलाई प्रदूषित बनाउन विकसित देशको भूमिका पनि उत्तिकै ठूलो छ। त्यत्तिमात्रै हाेइन, अन्तरिक्षमा पनि प्रदूषित गर्न उनीहरूको ठूलै भूमिका हुनेछ।

प्रकाशित मिति: : 2021-11-07 17:52:00

प्रतिकृया दिनुहोस्