दीपावलीकाे असर नयाँदिल्लीमा, विषाक्त हावाले निसासिए दिल्लीबासी [फोटो फिचर]

राज राेकाया

नयाँदिल्ली
Photo: PTI
Photo: PTI

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ।

दीपावलीकाे अवसर पारेर अत्याधिक पटाका पड्काउँदा शहरभर विषाक्त हावा फैलिएको छ। 

कतिपय मानिसले सामाजिक सञ्जालमार्फत दीपावलीको मुखैमा नयाँदिल्ली ‘ग्यास च्याम्बर’जस्तै बनेको टिप्पणी गरेका छन्।

वायु प्रदूषणका कारण स्थानीयहरू तनाब झेलिरहेका छन्। विषाक्त हावाले दिल्लीको अवस्था गम्भीर भएपछि अधिकारीहरूले सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गर्नसमेत दबाब दिइरहेका छन्।

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न भारतको सर्वोच्च अदालतले पटाकामाथि प्रतिबन्ध लगाएको छ। दीपावलीमा समेत पटाका प्रयोग नगर्न सरकारले निर्देशन जारी गर्‍यो। तर दिल्लीबासीले पालना नै गरेनन्। दिल्लीका प्रायः गल्ली र चोकहरूमा रातैभर पटाकाको आवाज आएको स्थानीयहरूले बताएका छन्।

दिल्ली र आसपास क्षेत्रको आकाश धुवाँको मुस्लोले ढाकेको छ। शहरभर बाक्लो धुवाँ फैलिएको छ। हावाको गुणस्तर सूचक चिन्ताजनक अवस्थामा पुगेको विज्ञहरू बताउँछन्।

शुक्रबार बिहानैदेखि दिल्लीबासीहरूलाई घाँटी चिलाउने र आँखा रसाउने समस्या सुरू भएको गुनासो छ। अक्षरधाम क्षेत्रको वायु गुणस्तर झन् गम्भीर श्रेणीमा पुगेको छ। कुहिरोका कारण सर्वसाधारणले दिउँसै सवारी–साधनको हेडलाइट बाल्नुपर्ने अवस्था छ।

भारतीय सरकार मौसम पूर्वानुमान तथा अनुसन्धान विभागका अनुसार वायुको गुणस्तर आइतबार साँझसम्मै रहने बताइएको छ। ‘आजै वा भोलिसम्मै सुधारमा कुनै सङ्केत छैन। स्वास्थ्यमा ख्याल् गर्नुहोस्। यसले दीर्घ रोगी बनाउँछ,’ विभागले भन्यो।

किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आँगो लगाउने काम गरिरहेकै बेला दिल्लीमा भारी पटाकाको भारले शुक्रबार एकाएक विषाक्त हावा फैलिएकाे हाे।

थप फाेटाेहरूः  एएनआर्ई–

प्रकाशित मिति: : 2021-11-05 09:08:00

प्रतिकृया दिनुहोस्