सन् २००२ तिर कीर्तिपुर केन्द्रीय क्याम्पसमा पढ्दा प्राध्यापक गोविन्दराज भट्टराईले एक दिन आफ्नो ‘लेक्चर’ का क्रममा भन्नुभएको ठट्टा जस्तो सुनिने एउटा कुराको याद कुनै न कुनै प्रसङ्गले मनमा आज पर्यन्त बजिरहन्छ।
पढाइ वा जागीरको तानाबानाले अंग्रेजीभाषीको देश वा तिनको सङ्गतमा परिरहने मान्छे उहाँ। “मेरो नाम बोलाउँदा ‘गोबिन्डा र्याज ब्याट्री’ भन्छन् विदेशतिर” उहाँले रमाइलो गर्ने शैलीमा भन्नुभएको थियो। हामी कक्षाका झण्डै सय जना विद्यार्थी खूब हाँसेका थियौं, त्यो सुनेर।
कालान्तरमा उनै गुरुको चेलो म अंग्रेजीभाषीको देश क्यानडा बस्न आएँ, परिवार सहित, र ‘घिमिरे’ बाट ‘गिमिरे’ ‘गिमायर’ र ‘गिम्री’ भएको छु।
नेपाल छँदा मेरो खाइजीविकाको मात्रै भाषा भएको अंग्रेजी यहाँ आएपछि दैनिक उठबसकै भाषा भयो। घर बाहिर त अंग्रेजीमा कनीकुथी नगरी चलेन–चलेन, घरमै पनि बालबच्चासँग अंग्रेजीमै नबोली सुख पाइएन। अलिअलि अंग्रेजी नेपालमै सिकेर आएको भए पनि अन्य देशबाट बसाइँसराइ गरेर आएका गैर–अंग्रेजीभाषीमाझ कुख्यात ‘एक्सेन्ट’ भनिने मातृभाषीको बोलाइको लवजसँग अभ्यस्त नभएको मलाई शुरूशुरूमा यताको कथ्य अंग्रेजी झण्डै–झण्डै ‘भैंसी बराबर’ भयो।
यस्तो स्थिति सधैं भने रहेन। मान्छेका हातगोडा, कान र दिमाग सबै जनावरभन्दा छिटो कुनै पनि कुरामा अभ्यस्त हुन्छन्– अभ्यास र आवृत्तिले भन्ने कुरा पढे, बुझेकै कुरा हो। बिस्तारै क्यानेडेली सञ्चार माध्यमले बोलेका कुरा सबै बुझ्न थालियो। दैनिक जीवनका खनखाँचोमा र काममा हुनु, गर्नुपर्ने सञ्चारका कुरामा क्रमशः सजिलो हुँदै गयो।