नौ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन गर्न नेपाली सेनाले बम विस्फोट गरेको छ। कात्तिक पहिलो हप्ताको वर्षाले कात्तिक ३ गतेबाट कालीगण्डकी करिडोरको गुल्मी खण्डस्थित रुरुक्षेत्र गाउँपालिका २ साँघुरेमा ठूलो पहिरो गएको छ।
पहिरोसँगै बिच भागमा ठूला ढुङ्गाहरू रोकिएकाले जोखिम बढेको थियो। स्थानीय स्तरमा पहिरो फालेर सडक सञ्चालनको प्रयास पनि भएको थियो। तर, सानो प्रयासले सम्भव नभएपछि सेनाले बम विस्फोट गरेको हो।
शुक्रबार दिउँसोबाट नेपाली सेनाको टोलीले बम बलाष्ट गरेर ढुंगाहरू फुटाउने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदल हर्मिचौर र ग्राम शार्दुल गुल्मका उपसेनानीसहितको टोलीले सडक सञ्चालनको प्रयास गरिरहेको पौडेलले बताए।
उनले स्थानीय प्रयास असफल भएपछि सेनाको प्रक्रिया अगाडी बढाएको र सेना आफैका पनि प्रक्रियाका कारण भनेकै समयमा सडक सुचारु गर्न मुस्किल परेको बताए। रिडी–रुद्रवेणी–वामी हुँदै बाग्लुङ्गसम्म सयौँ सवारी साधन दैनिक आवतजावत गर्छन्।
नजिकैबाट वैकल्पिक सडक नभएकाले सबै सवारीहरू रिडी–तम्घास–इन्द्रेगौडाको सडकबाट गन्तव्यमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनले शनिबार अबेरबाट यातायात सञ्चालनको प्रयास भइरहेको बताए।