संसारमा मानिसका खण्डेर वर्ण र मानवेतर भाषालाई अव्याख्येय भाषाका स्थानमा राख्नु औचित्यपूर्ण हुने देखिन्छ।
मानिसको भाषालाई स्पेक्टोग्राफ, असिलोग्राफ, क्रोमोग्राफजस्ता वैज्ञानिक यन्त्रद्वारा व्याख्या गर्ने आधारको विकास भइसकेको छ। प्रविधिले मान्छेको भाषाको व्याख्यामा जोड दियो किनकि प्रविधि मान्छेले बनाएको हो। अर्को यथार्थ त हरेक यान्त्रिक उपकरण अंग्रेजी भाषामैत्री भएका हुन्छन् किनभने यस्ता यान्त्रिक आविष्कारमा अंग्रेजी भाषीको पहुँचले भूमिका खेल्दो हो ! यसो भनिरहँदा चीनमा आविष्कार भएका चिनियाँ भाषामैत्री बनेका हुन्नन्। यो सालाखाला हिसाब हो। अंग्रेजी भाषा विश्वव्यापी प्रयोगमा बाहुल्य पाएको भाषा भइदिएकाले हामी यसैको प्रभावमा बढी आकर्षित भइरहेका छौं।
मान्छेले भाषाविज्ञानका आधारहरू तय गर्यो। संसारका भाषाको व्याख्याका क्रममा सार्वभौमिक सिद्धान्त र प्रयोग सापेक्षतालाई तालमेल गराएर परीक्षणीय, मापनीय, सार्वभौम, व्याख्यात्मक, ठोस, प्रामाणिक लगायतका विभिन्न वैज्ञानिक आधारलाई निक्र्योल गरियो। नोम चम्स्कीले २०औं शताब्दीपछि भाषाविज्ञानलाई वैज्ञानिक रूप दिए।
अझ भाषालाई सार्वभौमिक आधार प्रदान गर्ने गरी सन् १९८६ मा युरोपेली ध्वनि वैज्ञानिक पल पासी र उनका सहयोगीद्वारा अन्तर्राष्ट्रिय ध्वनितात्त्विक वर्णमालाका विषयमा काम भएको पाइन्छ। यसै क्रमलाई अन्तर्राष्ट्रिय ध्वनितात्त्विक परिषद्ले सन् १९८८ मा अगाडि बढायो। सन् १९१८ मा अन्तर्राष्ट्रिय ध्वनितात्त्विक संघ (आईपीए) ले ध्वनि वैज्ञानिक ड्यानियल जोन्सको चतुर्भुजाकारमा तयार पारिएको मानस्वरसम्बन्धी व्याख्यालाई मान्यता दिएर स्वर ध्वनिको चर्चालाई अघि सारेको थियो।