बेमौसमी बर्षाको वितण्डा : महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति

Photo : NK
Photo : NK

बेमौसमी बर्षाको कारण महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति भएको छ। अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीका विभिन्न स्थानीय तहमा करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली मध्ये अहिलेसम्म पाँच वटा स्थानीय तहबाट मात्र विवरण आएको छ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट क्षतिबो विवरण आएको बताए। विवरण अनुसार सोनामा गाउँपालिकामा पाँच बिघा धान खेती नदीले कटान गरेको छ। महोत्तरी गाउँपालिकामा १२ बिघामा पूर्ण रुपमा क्षति पुगेको छ भने ६ हेक्टर खेत नदी कटान र डुबानमा परेको छ।

यसैगरी, एकडारा नगरपालिकामा चार हेक्टरमा, लोहारपट्टीमा एक हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा चार बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जानकारी दिएको छ। प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीमा अहिलेसम्म करिब १५ हजार किसानले धान खेतीबाट नोक्सान ब्यहोरेका छन्। 

प्रकाशित मिति: : 2021-10-20 15:05:00

प्रतिकृया दिनुहोस्