सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

बिएल संवाददाता

भोजराज कार्की
File Photo
File Photo

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन्। अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।

खुम्बु क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा आज बिहान करिब १० बजेदेखि नै हिमपात भइरहेकोे छ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए।अहिले खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताइएको छ। उनीहरुले हात मुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए।

सदरमुकाम सल्लेरीसहित जिल्लाको तल्लो क्षेत्रमा समेत आज बिहानैदेखि भारी वर्षा भइरहेको छ। वर्षाले यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ। दसैँको बेला टण्टलापुर घाम लागेको भए पनि टीका सकिएको केही दिनमै भारी वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान देखिएको छ। साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताए। 

सगरमाथा क्षेत्रमा चहलपहल बढ्यो

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ। कोभिड–१९ सङ्क्रमणको त्रासका कारण सुनसान बनेको खुम्बु क्षेत्रमा अहिले भारीतय चलचित्र ‘उचाइ’ छायाङ्कन गर्ने कलाकर्मीदेखि अन्य आन्तरिक एवं बाह्य पर्यटकहरुको उपस्थिति रहेको छ।

शरद् ऋतुको असोज महिनामा मात्रै आन्तरिकसहित दुई हजार पर्यटक खुम्बु प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। निकुञ्जको जोरसल्ले चेकपोष्टको तथ्याङकअनुसार सार्क देशका ४५२ जनासहित एक हजार ३२३ जना विदेशी लुक्लाबाट उकालो लागेका छन्। यस्तै पर्यटकका सहयोगीसहित ७७८ जना आन्तरिक पर्यटकसमेत खुम्बु क्षेत्र पुगेको बताइएको छ।

अघिल्लो वर्षको असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए। अघिल्लो वर्ष कोरोनाका कारण ठप्प जस्तै बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि बिस्तारै लयमा फर्किन थालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2021-10-19 19:30:00

प्रतिकृया दिनुहोस्