निरन्तरको वर्षाले दाङमा २५ प्रतिशतसम्म धानवालीमा क्षति

जनप्रतिनिधि भन्छन्– छिट्टै किसानलाई राहतको व्यवस्था हुन्छ

आइतबार रातीदेखिको अविरल वर्षाले दाङमा भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेको छ। काटेर खेतमै सुकाएको धान पानीले भिजाएपछि चामलको गुणस्तरमा कमी आउने हो कि भन्ने चिन्तामा किसान छन्।

‘नकाटेको धानमा त तेति असर पुग्दैन होला,’ दाङ घोराही उपमहानगरपालिका १७ का किसान तारा चौधरीले भने, ‘काटेको धानमा त क्षेती पुगेको छ। चामलको गुणस्तर घट्ने हो कि भन्ने चिन्ता छ।’

उनले अझ थप पानी परेमा धान कुहिने र धान काम नलाग्ने समेत बताए। ‘अब थप पानी परेर खेतमै डुब्यो भने त धान कुहिन्छ, कामै लाग्दैन,’ उनले अगाडी भने। चौधरीले भने जस्तै थप पानी परेर धान डुवाएमा धान कुहिने सम्भावना हुने कृषि ज्ञान केन्द्र दाङका वाली संरक्षण अधिकृत तथा सूचना अधिकारी रुद्रमणि पौडेलले बताए।

निरन्तरको वर्षाले दाङमा २० देखि २५ प्रतिशतसम्म धानवालीमा क्षेति पुयाएको उनको अनुमान छ। ‘स्थानीय तहसँग क्षेतीको विवरण संकलन गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘अहिले प्रारम्भिक अनुमानमा २० देखि २५ प्रतिशत धानमा क्षेती पुगेको छ।’

दाङ देउखुरी क्षेत्रमा छिटो धान पाक्ने भएकाले त्यस क्षेत्रमा अलि बढीे क्षेती गरेको अनुमान गरिएको छ। पौडेलका अनुसार देउखुरी क्षेत्रमा लगभग ७५ प्रतिशत धान काटिएको र त्यसमध्ये भित्र्याउन बाँकी २५ प्रतिशत जतिमा वर्षाले क्षेती पुयाएको छ। ५० प्रतिशत जति किसानहरुले धान भित्र्याइएसकेको उनले बताए। देउखुरी क्षेत्रमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका छन्।

त्यस्तै दाङको माथिल्लो भूभागमा पनि वर्षाले करिब १० देखि १५ प्रतिशतसम्म धानमा क्षेती पुयाएको छ। घोराही, तुलसीपुर उपमहानगरपालिकामा अली बढी धानमा क्षेती पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ।

वर्षासँग हावाहुरी चल्दा धान ढलेपछि नकाटेको धानमा पनि वर्षाले क्षेती पुयाएको छ। तर दाङको पश्चिम क्षेत्रमा भने अलि ढिला धान पाक्ने भएकाले त्यति धेरै क्षेति नभएको अुनमान गरिएको सूचना अधिकारी पौडेलले बताए।

छिट्टै किसानलाई राहतको व्यवस्था हुन्छः जनप्रतिनिधि

निरन्तको भारी वर्षाले मानो रोपेर मुरी भित्र्याउने समयमा धान वालीमा क्षेती पुगेपछि स्थानीय तहका जनप्रतिनिधि किसानका खेतमै पुगेका छन्। आइतरबार रातीदेखिको वर्षाल सोमबार विहान किसानको खेत जलमग्न भएपछि विहानै तुसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे किसानको खेतमै पुगेर नआत्तिन आग्रह गरे।

त्यस्तै लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले किसानको खेतमै पुगेर आफूले हेरेको प्रतिकृया दिंदै छिट्टै किसानलाई राहतको व्यवस्था गरिने बताए। विएल न्युजसँगको कुराकानीमा उनले अहिले क्षेतीको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिंदै किसानलाई नआत्तिन पनि आग्रह गरे।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पनि अहिले क्षेतीको विवरण संकलनको कार्य भइरहेको बताए। क्षेतीको विवरण संकलन गरेर प्रदेश सरकारसम्म पठाउने र किसानलाई सक्दो राहतको व्यवस्था गर्ने बताए।

उनले स्थानीय तह, संघसंस्था तथा प्रदेश, संघ सरकारसँगको समन्वयमा किसानलाई राहतको व्यवस्था गरिने जानकारी दिए।

 


 
 

प्रकाशित मिति: : 2021-10-19 12:21:00

प्रतिकृया दिनुहोस्