यसपालि दसैंकाे भाेलीपल्टदेखि जुम्लाका अधिकांश जिउलामा धान काट्न सुरु गरियाे। तर आइतबार साँझबाट पानी पर्न थालेपछि किसान मर्कामा परेका छन्।
जुम्लाकाे लागि मुख्य मानिएकाे धान बाली पाकेर घर भित्र्याउने बेला आपत आइलागेकाे चन्दननाथ -१० की किसान घुतुमा सार्कीले बताइन्।
'बासी पिठाकाे दिन (दसैंकाे भाेलिपल्ट) काटेका धान खेतमै छन्। वर्षात बढी भएकाले याे वर्ष मार्सी धान राम्राे थियाे,' उनले भनिन्, 'आइतबार रातिदेखि पानी पारेपछि समस्या आयाे। अब खेतका धान खेतमै हुनेजस्ता छन्।'
नकाटेका धानमा उति असर नपर्ने भएपनि काटेकाे धान भिजेर बिग्रने चिन्ता बढेकाे गुठीचाैर गाउँपालिका देपालगाउँका मुनबिर सार्कीले बताए।
'दस भारी खेत छन्। हिजाे अस्ति गरि तीन भारी जति धान काटेका थियाैं। अब पानी परेका हुनाले ती धान बिग्रन्छन् जस्ताे छ,' उनले भने, 'नकाटेको धानमा त खासै असर पर्दैन। तर हिउँ आयाे भने सबै धान खेर जाने सम्भावना हुन्छ।'
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार यतिबेला नेपालमा पश्चिमी वायुसँगै अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ।
बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो र यो क्रम झन्डै साताभर कायम रहने मौसमविद् मञ्जु बासीले बताइन्।
'अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ,' उनले भनिन्, 'नेपालका उच्च हिमाली भेगमा हिमपातको बलियो सम्भावना रहेको छ।'
माैसमविद् बासीले भनेझैं हिमाली क्षेत्रमा हिमपात भएकाे खण्डमा जुम्ली मार्सी धानमा ठूलाे नाेक्सान हुने सम्भावना रहेकाे तातोपानी गाउँपालिका -४ का किसान धीर बाहादुर सार्कीले बताए।
'गिडीखाेलाकाे जिउलाे ठुलाे छ। याे धान राम्राे हुने ठाउँ पनि हाे। राम्राे धान भयाे भने सालभरीलाई पुग्छ,' उनले भने, 'वर्सातले धान बिग्रियाे भने वर्षभरीकाे खानाकाे नास हुन्छ। अनिकाल पर्छ।'
बासी र त्यासी पिठा गरि पुरै धान काटिसकेका उनले भने, 'धान चुटेर भकारीका हाल्ने बेला परेकाे पानीले सुविकालकाे संकेत देखाएन। दुखका दिन सुरु भएका जस्ता छन्।'
एक गतेदेखि पानी पर्छ भन्ने हल्ला सुने पनि चर्किलाे घाम लागेपछि उति वास्ता नगरेकाे किसान उमाकान्त रावलले बताए।
'हतारमा काटिएका 'लाई जिउलाका' लाेकल मार्सी धान भित्र्याउन पायाैं,' उनले भने, 'ओग्ले जिउला र खाेलापानेका धान काटेका छैनौं। हिउँ पर्याे भने धान झारिदिन्छ कि! भन्ने झर्काे छ।'
बेमौसममा परेकाे वर्षाले सिम खेतमा काटिएकाे धान बढी भिजेकाे छ। आफ्नाे पूरै खेत घरतली जिउलाका सिम बढी भएकाे ठाउँमा भएकाले बढि पानी खेत भरि पानी टनाटन भएको चन्दननाथ -१० का किसान इन्द्र सार्कीले बताए।
'मेघ यस्तरी रात दिउसै आइरहने हाे भने धान घर ल्याउन पाइने जस्ताे छैन,' उनले भने, 'ठुलाे परिवार छ। चार छाेरी एक छाेरा, बुबा र श्रीमतीलाई छ महिना पुग्ने धान हुन्थे। धान बिग्रियाे भने त ठुलाे नाेक्सान हुन्छ।'
काटेकाे धानलाई वर्षातकाे पानीले समस्या ल्याउने कृषि प्राविधिक लछिराम महतले बताए। 'घाम नलाग्दासम्म काटेको धान खेतमै राख्नुपर्छ,' उनले भने, 'घाम लागेपछि दुई तीन दिन सुकाएर मात्र घर भित्र्याउनु पर्छ। यो बाहेक अर्काे विकल्प छैन।'
निरन्तर वर्षा भइरहेको समयमा धान चलाउन नहुने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए।
'वर्षाले नकाटेको धानलाई त केही नगर्ला। तर काटेको धानमा निकै ठूलो असर गर्छ,' उनले भने, 'चिस्यान बढी हुने कारणले घुनकिरा लाग्छ। त्यसबाट जाेगिन राम्रोसँग सुकाउनुपर्छ।'
उनका अनुसार अधिकांस धान खेतमै झर्छ। धान भण्डारण गर्नको लागि १२ प्रतिशत मात्र चिस्यान हुनु पर्छ। तर यो वर्ष धान वर्षासँगै भित्र्याउन थालेकले कुहिने डर पनि उत्तिकै छ।
'किसानलाई नआत्तिएर धान भित्र्याउन आग्रह गरेका छौं,' उनले भने, 'वर्षा रोकिने वित्तिकै लगातार सुकाएर मात्र धान भित्र्याउन र भण्डार गर्ने तरिकाबारे किसानलाई सूचना प्रसारण गरेर सचेत गराउछाैं।'
जुम्लामा २९ सय हेक्टरमा धान खेती गरिन्छ। जसमा १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ भने बाँकीमा चन्दननाथ १ र ३ तथा लेकाली १ र ३ राेपिएकाे छ। जसलाई उन्नत जातको धान पनि भनिन्छ।