सँगै बाच्ने सँगै मर्ने भनी कसम खाएकाे नाता जब टुट्छ अनि दिइन्छ ‘हत्या’ सुपारी 

डिल्ली पाण्डे

काठमाडाैँ
Breaknlinks
Breaknlinks

जब मदिराको नशा चढ्न थाल्यो तब २९ वर्षीय राजकुमार भुलुनले पत्नी कुट्न थालिहाल्थे। दिनहुँ मदिना पिएर पत्नी कुट्नु उनकाे दैनिकी जस्तै बनिसकेको थियो। राजकुमारकाे यातनाले २८ वर्षीया रजिना वाक्क–दिक्क भइसकेकी थिइन्।

उनले पति राजकुमारलाई मदिराबाट छुटाउन अनेक प्रयास गर्दा पनि पटक्कै सकिनन्। त्यसपछि रजिनाले पतिको हत्या गर्ने योजना बुनिन्। 

उनको निर्णयमा राजकुमारका साढु–भाइ ज्ञानकुमार सिंतान, २५ वर्षीया साली सुनिता सिंतान र उनकै साथी लक्ष्मी ब्लोन ‘लुङ्वा’ भनिने म्याक्सी माया भोलनले समेत साथ दिए। तर, मानिसको हत्या गर्नु चाहिँ चानचुने कुरा थिएन। त्यसैले पतिकाे हत्या गराउनका लागि सुपारी दिएर अन्य मानिस नै खोजिन्, रजिनाले।

साथी लक्ष्मीले हत्याको लागि अन्य व्यक्तिकाे खोजी गरिन्। लगतै, मनोज सार्कीलाई हत्या गर्न प्रयोग गरियो। सुरुमा त उनले मानेन्। तर, ५० हजार रुपैयाँ दिने भनेपछि मनाेज तयार भए।

असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका–७ देवचौरस्थित सलेनी खोल्सामा वाग्मती गाउँपालिका प्युटार घर भएका २९ वर्षीय राजकुमार भुलुनको हत्या भयो। उनकाे टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकाे प्रहरीले जनाएकाे छ।

‘मैले श्रीमती मारे आउनुहोस् समात्न’

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा पत्ता लगायाे– राजकुमारकाे हत्या उनकै पत्नीकाे याेजनामा भएकाे थियाे।

ललितपुर प्रहरीले रजीना भोलुनसहित साढु–भाइ ज्ञानकुमार सिंतान, साली सुनिता सिंतान र मृतकै साथी लक्ष्मीलाई पक्राउ गरेको थियो। तर नजिकै हत्या गरेर फर्किएदा सार्की घटनास्थल नजिकै मृत फेला परेका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनकाे लडेर मृत्युभएको खुलेको छ।

पतिबाट पत्नी र पत्नीबाट पति मारिएका यस्ता प्रतिनिधिमूलक घटनाहरू कैयाैँ छन्। पत्नीकाे याेजनामा मारिने राजकुमार त एउटा उदाहरण मात्रै हुन्।

शारीरिक दुर्भलाको कारण पत्नीहरू आफैंले हत्या नगरेपनि अन्य व्यक्ति लगाएर पतिको हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७७–७८ साउनदेखि चैतसम्म १७ पत्नीले पतिको हत्या गरेको देखिएको छ। जबकि सोही समयमा ७० पत्नीको हत्या पतिले नै गरेका छन्।

आर्थिक वर्ष २०७४ र ७५ मा पत्नीले १६ जना पतिको हत्या गरेका छिन। यस समयमा पतिबाट ८३ जना पत्नी मारिएका थिए। आर्थिक वर्ष २०७५र७६ मा पत्नीले १५ जना पतिको हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७६र७७ मा १७ जना पति, पत्नीको हातबाट मारिएका छन्।

यस्ता हत्याको कारणमा आर्थिक, विवाद र बिहेइतर सम्बन्ध नै जोडिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवर बताउँछन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा–४ का ३९ वर्षीय राम श्रेष्ठ आफैंले पत्नीको हत्या गरे।

काठमाडौं बस्दैँआएका उनले साउन २७ गते प्रहरीलाई फोन गरेर आफैँले पत्नीको हत्या गरेको जानकारी दिए। गौशालाको प्रहरी टोली गुहेश्वरीस्थित श्रेष्ठको कोठामा पुगेर हेर्दा २३ वर्षीया पत्नी रन्जु तामाङ खाटमा मृत भेटिइन्। उनको गर्भमा पाँच महिनाको बच्चासमेत भएको खुल्यो।

प्रहरीसँगको बयानमा श्रेष्ठले पत्नीसँग विवाद हुँदा हत्या गरेको स्वीकारेका थिए। उनीहरूबीच केही समयदेखि विवाद भएको प्रहरीको अनुसन्धानमा खुल्यो।

अपराधकाे चढ्दो ग्राफ: ‘जजक’ र आत्महत्याको डरलाग्दो अवस्था (भिडियोसहित)

पछिल्लो समय यसरी पतिबाट पत्नीको हत्या हुने सङ्ख्या पनि बढ्दै गएको छ।

साउनदेखि चैत महिनासम्म १ सय ९८ जना आफन्तबाट मारिँदा ८५ जना पतिले आफ्नै पत्नीको हत्या गरे। यो संख्या ४२ प्रतिशत भन्दा बढी हो। प्रत्येक वर्ष पतिबाट पत्नी मारिने सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

आर्थिक वर्ष २०७३–७४ मा ६७ जना पत्नीको पतिले हत्या गरेको देखिएको छ। आर्थिक वर्ष २०७४र७५ यो सङ्ख्या बढेर ८३ पुगेको छ। आर्थिक वर्ष २०७५–७६ मा यो सङ्ख्या झनै बढेर ८९ पुग्यो। २०७६–७७ मा भने यो सङ्ख्या घटेर ७० मा आएको थियो। २०७७ को पछिल्लो अवधि कोभिड १९ का कारण प्रभावित थियो जुन अवधिमा समग्र अपराध श्रृङ्खलामा नै कमी आएको  थियो।

त्यस्तै, पछिल्लो समय महिलाहरुको आत्महत्याको केसमा समेत पतिहरु नै समातिने गरेका छन्। उनीहरुलाई दुरुत्साहनको अभियोगमा प्रहरीले नियन्त्रणमा लिने गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकै साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकी अवस्थामा फेला परिन्।

चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

सविताको माइती पक्षले घटना आत्महत्या नभई परिवारले नै मारेको भन्दै उनका पति्, ससुराविरुद्ध किटानी जाहेरी दिए। गत वैशाख १२ गते मृतकका बुवा रामचन्द्र भण्डारीले प्रहरीकहाँ जाहेरी दिएका थिए। उजुरीपछि चितवनका योगेन्द्रकुमार धिताल र रमेशकुमार धिताललाई प्रहरीले पक्राउ गर्‍यो। अन्ततः आत्महत्या दुरुत्साहनमा समेत पतिको संलग्नता देखियो।

अग्नी साक्षी राखी सात फन्काे लगाएर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका पति–पत्नी जीवनको उतार्धमा नै एकअर्काका लागि काल बनिरहेका छन्।

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा 

 

प्रकाशित मिति: : 2021-10-18 05:57:00

प्रतिकृया दिनुहोस्