डोबाटे विश्वकर्मा भन्छन्- पहिला दोबाटोबाटै फर्किएँ, यसपालि पर्दैन होला 

फाइल तस्वीर
फाइल तस्वीर

लगभग मन्त्री हुने पक्कापक्की थियो। दौरासुरुवाल लगाएर शपथ खान आउदा आउँदै थाहा लाग्यो, 'मन्त्री त अर्कै हुने भए रे !'

खबर अप्रत्याशित थियो। मनमा चिसो पस्यो। जिन्दगीभरको त्यागको अघि राजनीतिको स्वार्थ हाबी भएको थियो। त्यो दिन निकै हडबडाएका थिए डोबाटे विश्वकर्मा।

लामो विवादपछि मन्त्रिपरिषद् विस्तार भयो गण्डकीमा। डोबाटेलाई उपेक्षा गरिएको भन्दै चर्को आलोचना पनि भयो। त्यसपछि त्यो घटना सामसुम जस्तै भयो। लामो समयसम्मको राजनैतिक घटनाक्रम सेलायो।

सोमबार बिहानै गण्डकीमा फेरि नयाँ घटनाक्रम विकास भयो। दोबाटोबाटै फर्काइएका डोबाटे फेरि मन्त्री बन्ने ! संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशतलाई मन्त्री बनाउन सक्ने सुविधा दिएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा १२ जनासम्म मन्त्री बन्न पाउँछन्। यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा पनि १२ मन्त्रालय बनाउने कुरा उठेको थियो। तर, सहमति जुट्न नसकेपछि ११ मन्त्रालय बन्यो।

अनपेक्षित राजनैतिक घटनाक्रमको साक्षी बसेका डोबाटेलाई पुन सरप्राइज दिइएको छ। सोमबार साँझ ५ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङ कहाँ शपथ खाने कार्यक्रम तय भइसकेको छ। विना विभागीय मन्त्री नियुक्त गरी प्रदेश प्रमुख कहाँ शपथको लागि पत्र पुगिसकेको छ। गृह जिल्ला तनहुँबाट शपथका लागि मन्त्री डोबाटे आउँदै छन्।

बिएल नेपाली सेवासँग कुराकानीमा डोबाटेले पोखरा आउँदै गरेको बताए। मन्त्रीको शपथ लिँदै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ? हामीले सोध्यौँ। 'अनुभव त लिइ सकेपछि होला। पदभार ग्रहण गरेपछि थाहा होला, अहिल्यै त कसरी थाहा हुन्छ,' उनले भने।

पार्टीले आफ्नो योगदानको कदर गरेर मन्त्री बनाउन लागेको ठान्छन् डोबाटे। 'पहिला दोबाटोबाटै फर्किएँ। यसपालि त पर्दैन होला!' ठट्यौली पारामा उनले भने।

प्रकाशित मिति: : 2021-10-11 12:41:00

प्रतिकृया दिनुहोस्