नेपाली कांग्रेस बाजुराको सभापतिमा पौडेल पक्षका रावल विजयी 

नेपाली कांग्रेस बाजुराको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल विजयी भएका छन्। त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज पण्डितलाई पराजित गरेका हुन्।

रावलले ६०५ मत प्राप्त गरे भने रावलका प्रतिस्पर्धी पण्डितले ५६६ मत पाए। बुधबार भएको मतदानबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो। तेस्रो स्थानमा रहेका चक्र शाहले रावललाई दोस्रो चरणको मतदानमा सघाएपछि उनको जित सहज बनेको हो। पहिलो चरणको मतदानामा शाहले १५२ मत पाएका थिए।

कुल एक हजार १८२ मत खसेकोमा ११ मत बदर भएको थियो। जिल्ला कार्य समितिको पदाधिकारीमा सह–सचिव एक जना बाहेक सबै पदमा पौडेल पक्ष विजयी भएको छ। उप–सभापतिमा पदम बडुवाल विजयी भएका छन्।

बडीमालिका नगरपालिकाका नगर प्रमुखसमेत रहेका बडुवालले सबै भन्दा बढी ७५६ मत ल्याएर उप–सभापतिमा विजयी भएका हुन्। उपसभापतिमा अर्का नारायण पाध्यायले ७४८ मत ल्याएर बिजयी भएका छन्। उपसभापति दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो। जसमा शेर बहादुर खातीले ४३२ मत ल्याएका थिए। 

प्रकाशित मिति: : 2021-10-08 08:11:00

प्रतिकृया दिनुहोस्