पदमा छँदा ‘वाहवाही’, अवकासपछि सधैं विवादमा!

आयोमेल

धैर्यकान्त दत्त

एक दशकअघि मधेशमा आन्दोलन चलिरहँदा भूमिगत समूहरूको ठूलो बिगबिगी थियो। जनतान्त्रिक मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चालगायतका भूमिगत संगठनहरू सक्रिय भएर तराईमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका थिए।

चन्दा आतंक, बम विष्फोट, हत्यालगायतका घटनाबाट तराई–मधेशका सर्वसाधारण त्यतिबेला भय र आतंकमा बाँच्न बाध्य थिए। फोनमा चन्दा माग्ने र चन्दा नदिँदा भूमिगत समूहको निशानमा परी हत्या हुनु सामान्य झैं बनिसकेको थियो, त्यतिबेला।

ती भूमिगत समूहको चन्दा आतंक, हत्याजस्ता घटनाबाट जनकपुर पनि अछुतो रहन सकेन। जनजीवन आक्रान्त थियो। जनकपुरधाम–४ बस्ने कुमार निरौलाको दिनदहाडै गोली हानेर हत्या भयो। जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय सञ्चारकर्मीहरूलाई फोन गरेर हत्याको जिम्मा लियो। कारण थियो मागेअनुसार निरौलाले भूमिगत समूहलाई चन्दा दिएका थिएनन्।

निरौला हत्या घटनाको केही दिन बित्दै जनकपुरधाम–१ स्थित यातायात कार्यालय धनुषाका तत्कालीन प्रमुख यमुना पञ्जियारमाथि घरभित्रै अज्ञात समूहको गोली प्रहार गर्‍यो। गोली लागेर उनी घाइते भए।

भूमिगत समूहको गोली प्रहार र बम विस्फोटजस्ता घटनाका श्रृंखलाहरू त्यत्तिकैमा रोकिएन। पञ्जियारमाथि गोली प्रहारको एक दिन नबित्दै रामानन्द चोकभन्दा पश्चिम आँखा अस्पतालनजिक फेरि अर्को गोली प्रहार भयो। निशानामा थिए गाविसका तत्कालीन सचिव। तर, अज्ञात समूहले चलाएको त्यो गोली एक बालकलाई लाग्यो। र, त्यो बालकको उपचारका क्रममा धरानमा मृत्युभयो।

लगातार भइरहेका हिंसाका घटनाका कारण जनकपुरसहित तराई–मधेशका जिल्लाका बासिन्दा आक्रान्त बनिरहेका थिए। आपराधिक घटना बढ्दै गएपछि सुरक्षा चासोलाई लिएर प्रहरीमाथि प्रश्न उठिरहेको थियो।

त्यतिबेला धनुषाका प्रहरी प्रमुख थिए सर्वेन्द्र खनाल। भूमिगत समूहमा लागेका पाँच जना प्रहरी ‘इन्काउन्टर’ मा मारिए। भूमिगत समूहमा लागेका ३÷४ जना जनकपुरको भ्रमरपुरा चोकभन्दा पश्चिम एक पोखरीनजिक प्रहरीको गोलीबाट मारिएका थिए। एक जनाको जनकपुरको कपिलेश्वरभन्दा पूर्व सुनसान सडकमा ‘इन्काउन्टर’ भयो।

प्रकाशित मिति: : 2021-10-08 06:37:00

प्रतिकृया दिनुहोस्