व्यवसायीले तोके दशैंका लागि मासुको मूल्य, केको मूल्य कति ?

फाइल तस्वीर
फाइल तस्वीर

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्।

आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो।

यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बंगुरको मासु पाँच/पाँच सय तोकिएको छ। राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो। संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए।

'संघबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौं । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए संघबाट कारबाही हुन्छ’, उनले भने।

अन्य समयको तुलनामा दशैँमा कुखुरा र बंगुरको मासुको खपत कम हुने गरेको छ। खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैंको अवधिमा कुनै परिवर्तन हुनेछैन।

यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो। मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले संघले मूल्य निर्धारण गरेको हो।

चीनबाट च्यांग्रा नआउँदा स्वदेशी च्यांग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ। मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन्।

अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्यांग्राको मूल्य बढ्ने बताए। चीनबाट च्यांग्रा आएको छैन। देशमा उत्पादन भएका च्यांग्रा  कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन्।

संघका अनुसार गत वर्ष जिउँदो च्यांग्रा प्रतिकिलो .७०० देखि ८०० र  मासु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्यांग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ।

नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए। उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले  दशैंका लागि मासुको अभाव नहुने जानकारी दिए।

अध्यक्ष थापाका  अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्यांग्रा  कम ल्याउने भएका छन्। गत वर्ष काठमाडौं उपत्यकामा सात हजार च्यांग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ।

– रासस

प्रकाशित मिति: : 2021-10-07 17:05:00

प्रतिकृया दिनुहोस्