लालु यादवका छोराहरू 'कृष्ण-अर्जुन'काे युद्धमा, तेजप्रतापले त्यागे आरजेडी

बिहारका चर्चित नेता लालुप्रसाद यादवका दुई छोराको शीतयुद्ध अब प्रत्यक्ष युद्धमा परिणत भएको छ।

राष्ट्रिय जनता दलका संस्थापक तथा पूर्व मुख्यमन्त्री लालुका छोराहरू तेजप्रताप र तेजस्वी यादव (विधायक) बिहारको राजनीतिमा सक्रिय छन्। उनीहरूबीच पार्टी नेतृत्व आ–आफ्नो पोल्टामा पार्न एकअर्कालाई धकेलिरहेको नौलौ भने होइन।

अन्ततः लालुका जेठो छोरा तेजप्रताप राष्ट्रिय जनता दलको राजनीतिक उत्तराधिकारको लडाईबाट बाहिरिएका छन्। उनले पार्टी त्यागेकोसमेत चर्चा भइरहेको छ।

तेजप्रतापको पछिल्लो अवस्थाबारे आफूहरूलाई कुनै जानकारी नभएको पार्टीका राष्ट्रिय उपाध्यक्ष शिवानन्द तिवारीले बताएका छन्। उनले भने, ‘तेजजी कहाँ छन्, के गरिरहेका छन्, आरजेडीलाई अत्तोपत्तो छैन। मिडियाबाटै सुन्छौँ– उनले आफ्नै संगठन बनाउन लागिपरेका छन् रे !’

बिहारी सञ्चारमाध्यमका अनुसार तेजप्रतापले आफूलाई पार्टीबाट टाढा राखिसकेका छन्। भाइ तेजस्वीले पार्टीबाट निष्कासन गरेको हल्ला फैलिए पनि उनी आफै बाहिरिएका हुन्।

तेजप्रतापले भर्खरै विद्यार्थी जनशक्ति परिषद् नामको एउटा संगठन बनाएका छन्। उनले संगठनको माध्यमबाट आफ्नो राजनीति यात्रा अघि बढाउने संकेत गरेको बताइन्छ।

केही महिनायता तेजप्रताप आरजेडीको बैठकबाट टाढा रहँदै आएका थिए। मंगलबार सम्पन्न पार्टीको प्रशिक्षण शिविरमासमेत उनी देखिएनन्। बरू लालु यादवले तेजस्वीको प्रशंसा गर्दै भने, 'बिहारमा आरजेडीको प्रभाव बढेको छ।'

तेजप्रतापले तेजस्वीमाथि गम्भीर आरोप थुपारिदिएका छन्। उनले आफ्ना बुबालाई भाइले नै दिल्लीमा बन्धक बनाएको दावी गरेका छन्।

जेलबाट छुटेको लगभग एक बर्ष भैसकेको छ, तर लालु अहिलेसम्म पटना पुगेका छैनन्। पछिल्लो समय लालुका दुई छोरा बिहारी राजनीतिको वृत्तमा ‘कृष्ण र अर्जुन’ झैँ मतभेदका कारण चर्चामै छन्।

प्रकाशित मिति: : 2021-10-07 08:41:00

प्रतिकृया दिनुहोस्