एक सच्चा र परोपकारी सामाजिक कार्यकर्ता ती हुन्, जसले मानिसलाई उनीहरुको समस्या र चुनौतीहरुको सामना गर्न मद्दत गर्दछ।
पीडित व्यक्तिको क्षमतामा यस्ता समाजसेवीले सुधार ल्याउन खोज्छन् ता कि उनीहरुले आफ्नो जीवनको आवश्यकतालाई आफैँ पूरा गर्न सकून्। उनीहरु दीनदु:खीहरुका लागि साँच्चै आधार बनेर पुगेका हुन्छन्।
त्यस्तै सामाजिक कार्यकर्ता हुन्– संयुक्त राज्य अमेरिकाकी म्यागी डोएन। जो नेपालका अनाथ र गरीब बालबालिकाको भविष्य बनेर पुगेकी थिइन्, सुर्खेतमा।
सन् २००५ को कुरा हो, डोएनले हाइस्कुल शिक्षा पूरा गरेकी थिइन्। आफ्ना अन्य केही विद्यार्थी साथीहरुजस्तै डोएनले पनि आफ्नो हाईस्कूल र कलेजबीच एक वर्षको अन्तर राखेर संसार घुम्ने निर्णय गरिन्। त्यति बेला उनी १८ वर्षकी किशोरी थिइन्।
डोएनको कथा तब सुरु भयो, जब सडक यात्राको धेरै महिनापछि उनी उत्तरी भारत पुगिन्। त्यहाँको एउटा स्कूलमा गरीब र पीडित बालबालिकाहरुसँग सम्बन्धित काम गरिन्।
त्यसबेला नेपालमा भने माओवादी सशस्त्र द्वन्द्वको समापन हुने बेला भएको थियो। घरबार गुमाएका केही नेपालीहरु भारत पस्दै थिए। त्यसै बेला उनी एक जना नेपालीको साथी बनेकी थिइन् जो भारतमा बस्थे। ती साथीले उनलाई आफ्नो गाउँ सुर्खेत घुम्न आउन निमन्त्रणा गरेका थिए।
डोएनका ती साथीको गाउँ दुर्गममा थियो। युद्धले गर्दा पूरै तहसनहस भएको थियो। त्यहाँका मानिस चरम गरीबीबाट ग्रस्त थिए। त्यो देखेर निकै नै भावुक भएकी थिइन् डोएन। मनमा सघाउने तीव्र इच्छा त थियो तर उनले ती मानिसका लागि केही गर्न सकिरहेकी थिइनन्।
डोएन एक दिन सुर्खेतको गाउँकै बाटोमा हिँडिरहेकी थिइन्, डोएनको भेट एउटी सानी बालिकासँग भयो। ती बालिकासँगको भेटले उनको जीवनको मार्ग नै फेरियो।
उनले भेटेकी बालिका सानी थिइन् तर ती नानीको काम दिनभरि भारी बोक्ने थियो। उनले आफ्नो परिवारलाई सहयोग हुन्छ भनेर त्यो काम गर्थिन्। त्यसबापत उनले दिनको दुई अमेरिकी डलर बराबर कमाउने गर्थिन्।
त्यो दृश्यले डोएनको मन नराम्ररी कुँडियो। उनी अचम्मित त थिइन् नै, दु:खी पनि भएकी थिइन्। डोएनले बिस्तारै थाहा पाइन्– विश्वभरिमा आठ करोडभन्दा बढी बालबालिकाले ती बालिकाको जस्तै जीवन बिताइरहेका छन्।
त्यसको केही दिनपछि डोएनको भेट अर्की एक सात वर्षीय बालिकासँग भयो जो पैसा कमाउन ढुंगा फुटाउने गर्थिन्। उनको नाम हेमा थियो। डोएन सधैँ हेमालाई भेट्न जान थालिन्। हेमाले पनि उनलाई मीठो मुस्कानसहित अभिवादन गर्थिन्– 'नमस्ते दिदी !' भनेर। त्यसै बेला उनले अठोट लिइन्– संसारका अरु आठ करोड बालबालिकाको जीवन सुधार्न नसके पनि एउटीफ हेमाको चाहिँ सुधार्छु। अनि उनको पढाइ खर्च व्यहोर्न थालिन्।
हेमालाई मात्र सहयोग गर्नु डोएनको लागि पर्याप्त लागेन। त्यहाँ अझै पनि धेरै घरपरिवार नभएका अनाथ बालबालिका थिए, जसको जीवन पनि उनी बदल्न चाहन्थिन्। उनी त्यसमा लागिपरिन्।
त्यसपछि डोएनले आफूले जम्मा गरेर राखेको पैसाबाट सानो एक टुक्रा जग्गा किनिन्। अनि त्यसता अनाथ बालबालिकाका लागि आश्रय निर्माण गरिन्। त्यसपछि उनी अझ पैसा सङ्कलन गर्नतर्फ़ लागिन् ताकि ती बालबालिकाको जीवन राम्रो होस्।
सन् २००७ मा 'कोपिला भ्याली चिल्ड्रेन होम' को निर्माण गरिन्। त्यसमा उनले हेमाजस्तै करिब दुई सय अनाथ बालबालिकालाई स्वागत गरिन्। डोएन 'चिल्ड्रेन होम' मै रमाउन थालिन्। महिलाका लागि आश्रय र एउटा स्वास्थ्य क्लिनिक पनि खोलेकी छिन्। उनले स्कूल पनि खोल्न चाहिन्। सन् २०१० मा उनको अर्को सपना पूरा भयो– कोपिला भ्याली स्कूल। स्थानीयमा बाँसबाट बनेको प्राथमिक विद्यालयले सुर्खेत र वरपरका बालबालिकालाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको छ।
डोएन ३४ वर्षकी भइन्। एक गैरनाफामूलक 'ब्लिंक नाउ फाउन्डेसन' की सीईओ र सह-संस्थापक हुन् जो नेपाली युवालाई सशक्त बनाउन समर्पित छ।
डोएन उद्यमको लागि पनि प्रसिद्ध छिन्। सन् २०१५ मा न्यूयोर्कमा आयोजित एक समारोहमा एन्डरसन कूपरले उनलाई 'सीएनएन हिरो अफ द इयर' अवार्ड प्रदान गरेका थिए।
डोएन ले आफ्नो व्यक्तिगत जीवनको बारेमा त्यति खुलाउँदिनन्। उनको आमा एक महान्व्यक्तित्व हुनपर्छ, जसले डोएनजस्ती सामाजिक, आत्मविश्वासले भरिपूर्ण र एक उदार हृदयकी व्यक्तित्वलाई जन्म दिएकी छिन्।