छोराछोरी सबै अपाङ्ग, आमालाई हेरचाहको चिन्ता

भनिन्छ, छोराछोरी भनेका बुढेसकालका सहारा हुन्। तर मोरङ रतुवामाई—८ सिकिम्मे टोलकी सिर्जना घिमिरे बुढेशकालमा पनि पाँच जना जवान छोराछोरीको हेरचाहमा व्यस्त छिन्। उनको ५ जना छोराछोरी अपाङ्गता छन्।

शारीरिक रुपमा अपाङ्ग भएका ३९ वर्षीय निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीय पार्वता र २३ वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परिरहेको छ।

सिर्जनाका पाँच अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन्। ढुङगाना परिवारका २ छोरा र ३ छोरीले कष्टपूर्ण जीवन बिताउनु परेको छ। 

जन्मेको केही महिनापछि बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेका थिए। आमा सिर्जनाको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा बित्छ।

श्रीमान् तुलसीराम ढुङ्गाना हुँदा केही सहज महशुस गरेकी सृजना श्रीमानको निधनपछि एक्लो परेकी छिन् र उनलाई एक्लै सुस्तमनस्थितिका छोराछोरीको हेरचाह गर्नु परेको छ। उनको घरमा पुग्नुभयो भने अवश्य रुनुहुन्छ।

शारीरिक तथा मानसिकरुपमा समेत अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावरले खानेबस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसा, पिसाब गरेको पनि थाहा नपाउने आमा सिर्जना ढुङ्गानाले बताइन्।

‘५ अपाङ्ग छोराछोरी स्याहार्दै दिन जान्छ’, आमा सिर्जनाले गहँभरि आँशु पार्दै भनिन्, पाउनापात कहिकतै निस्कन नै मिल्दैन।’

अपाङ्ग छोराछोरी स्याहार्ने आमा सृजना पनि आफैंमा स्वस्थ छैनन्। ‘शरीरमा बल हराइसकेको छ, मेरो पाठेघरको अप्रेशन गरिएको छ, स्वयम् आफै रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन्।

पाँचै जना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन्। आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न। सिर्जनाले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन्। खाना खुवाएदेखि दिसा, पिसाब गर्दासमेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ। छोराछोरीलाई सम्हाल्दै छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउदिनन्।

‘एकछिन छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, सिर्जनाले भनिन्, ‘पाँच जनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला दैव।’

सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गाना दम्पत्तिले आशा पालेका छन्। ‘हाम्रा छोराछोरीको बिजोग देखेर कठैबरी भन्ने मात्र छन्’, सिर्जनाले भनिन्, ‘संघसंस्थाका व्यक्ति चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन् तर आजसम्म कसैले एक पैसा सहयोग गरेका छैनन्।’

सिर्जना ढुङ्गानाका पाँच अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन्।

प्रकाशित मिति: : 2021-10-06 14:20:00

प्रतिकृया दिनुहोस्