पोखराको फिर्के पुलमा ‘रमिता’: पुल छिटो बनाउ, तर डोजर नचलाउ ! (भिडियाेसहित)

पोखराको फिर्के पुल ७५ भदौमा १५ महिनाभित्र काम सक्ने गरी ठेकेदारसँग निर्माण सम्झौता भयो। शान्ति आरोग्य जेभीसँग ४ करोड ५५ हजार रुपैयाँमा सम्झौता भएको उक्त पुल हालसम्म बनेको छैन।

सामान्य पुल भत्काएर मोटरेबल पुल बनाउने सम्झौता पाेखरा महानगरपालिकाले गरेको थियो। महानगरपालिकाका दुई वडा ४ र ५ लाई जोडेको यो पुल निर्माण मिति गुज्रिसक्दा पनि बन्न सकेको छैन।

पुल निर्माणमा ढिलाई भएको भन्दै आइतबार सिद्धार्थचोक पोखरामा स्थानीयले झण्डै आधा घण्टा चक्काजाम गरे। पुल निर्माणलाई चाँडो सक्न दबाब स्वरुप गरिएको चक्काजाममा महानगरले पुल निर्माणमा आलटाल गरेको भन्दै चर्को नाराबाजिसहित विरोध गरे। काम नगर्ने जनप्रतिनीधिलाई कालोमोसो दल्ने चेतावनी समेत स्थानीयले दिएका छन्।

यद्यपि, पुल निर्माणमा भएको आलटालको विरोध गर्ने केही स्थानीय उल्टै पुल निर्माणमा अवरोध खडा गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोला र ५ का धनबहादुर नेपालीले भोलिदेखि नै काम सुरु हुने नत्र आफूहरु जवाफदेही हुने भन्दै भीड शान्त पारेपछि चक्काजाम खुलेको थियो।



भोकको संघर्षः उनीहरुलाई के थाहा, यहाँ सोनु कसरी बाँचिरहेको छ भनेर

१२ लाख लगानी गरेर फलाएको च्याउ पुर्न बाध्य भएका किसानको कथा



पछि महानगरपालिकाले ठेकेदार कम्पनीलाई महानगरमै डाँकेर काम ढिलाईमा स्पष्टिकरण सोध्याे। स्थानीयबाट पटक–पटक अवरोध खडा भएको ठेकेदार कम्पनीको स्पष्टिकरणपछि महानगरले जिम्मेवारी लिएर काम सुरु गर्न भनेको थियो। दुवै वडाध्यक्षसहित पोखरा महानगरका सूचना अधिकारीले काम थालि हाल्न निर्देशन दिएपछि काम थालेको केही मिनेटमै स्थानीयले अवरोध खडा गरेका थिए।

स्थानीयको अवरोधले काम भएनः ठेकेदार 

ठेकेदार कम्पनीका प्रतिनिधि रामनारायण यादवले स्थानीयकै विरोधका कारण आफूले काम गर्न नपाएको बताएका छन्। ‘स्काभेटर चलायो कि स्थानीय ढुंगामुडा गर्न आइहाल्छन्। तपाईंहरु भन्नुहुन्छ भने म भर्खरै काम सुरु गर्छु,’ उनले भने। महानगरले सुरक्षाको ग्यारेन्टी लिने बताए लगत्तै काम सुरु भयो।

तर, अपरेटरले स्काभेटर स्टार्ट भएको आवाज सुईको पाउने बित्तिकै स्थानीयहरू विरोध गर्न आईपुगेका थिए। स्काभेटरले आफ्नो जग्गामा क्षति पुग्ने भन्दै उनीहरू विरोधमा उत्रेका थिए। स्थानीय दीपक मुल्मी, मधु कोइराला लगायतले स्काभेटरले जमिन काट्दा आफ्नो जग्गामा क्षति पुगेको भन्दै विरोध गरेका थिए। पछि, वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली र ४ का वडाध्यक्ष शंकर बास्तोला समन्वयका लागि पुगेका थिए।

अब भने पोखरा महानगरले बल प्रयोग गरेरै भए पनि पुल निर्माण अघि बढाउने बताएको छ। महानगरका प्रवक्तासमेत रहेका पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले महानगरले बल प्रयोग गरेरै भएपनि भोलि (सोमबार) बाट काम थाल्ने बताए। पुल निर्माण काममा अवरोध पुर्याउनेलाई महानगरले कारवाही गर्ने समेत उनले चेतावनी दिएका थिए।

यस्तै, महानगरका सूचना अधिकारी भरतराज अधिकारीले ‘साइट’मा आएका समस्याहरुलाई आफूहरु समाधान गर्न सधै तयार रहेको बताए। ‘अब हामी पब्लिक प्रेसर थाम्न सक्दैनौं। ठेकेदार कम्पनीले कति समयमा सक्ने भनेर कमिटमेन्ट लेटर बनाएर आओस्, वातावरण मिलाउने जिम्मा हाम्रो,’ उनले भने।



पाेखरेलीका घर–घरमा मःम पुर्‍याउने लाहुरेनी

पोखरेलीलाई गलगाँडमुक्त बनाउने सय वर्ष पुरानो बालधाराको बेहाल



१५ महिनाभित्रै निर्माण सक्ने सम्झौता भए पनि जग्गा मुआब्जाको विषय लिएर विवाद भएपछि करिब ३ महिना काम रोकियो। निर्माण सुरु भए यता विवादमा अल्झेको फिर्के पुल सम्झौता भएको ३ वर्ष बितिसक्दा जम्मा २ वटा जगमात्रै उठाइएको छ। पुल बनाउन पहिलो म्याद सकिएपछि महानगरले ६ महिना म्याद सकिएको थियो। तर, उक्त म्यादसमेत जेठ महिनामै सकिइसकेको छ।

सम्झौताको ३ वर्षपछि पुलका जम्मा ६० प्रतिशत भौतिक प्रगती भएको छ। पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिना कहिले स्थानीयको अवरोध त कहिले ठेकेदारले काम नगर्दा निर्माण अवधि लम्बिएको बताए। म्याद थप्न उचित कारण नदेखाए ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने समेत महानगरले बताएको छ।

पोखरा वडा ४ र ५ लाई जोड्ने फिर्के पुल नबन्दा स्थानीयले सास्ती ब्यहोर्दै आएका छन्। वैकल्पिक बाटो प्रयोग गर्ने लामो पर्छ। बबर्खाको समयमा खोलाको बहाव बढ्छ। बागलुङ बसपार्कसँग सिधा सम्पर्क हुने यो पुल नबन्दा व्यापारमा समेत घाटा भएको भन्दै स्थानीय तथा व्यवासायीले संघर्ष समिति नै गठन गरेर आइतबार सिद्धार्थचोक, चिप्लेढुंगा क्षेत्रमा करिब १ घन्टा चक्काजाम गरे । तर, केही स्थानीय भने सार्वजनिक जग्गा हत्याउने दाउमा पटक पटक विरोधमा उत्रिदै आएका छन्।

प्रकाशित मिति: : 2021-10-03 19:42:00

प्रतिकृया दिनुहोस्